एमाले महाधिवेशनको उद्घाटन सभामा जे देखियो…..

चितवन । कहाँ बस्ने, कहाँ उभिएर हेर्ने भन्दै थिए नेकपा(एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएकाहरू । मान्छेले मान्छेलाई ठेलमठेल भएर ज्यान जोगाउनै गाह्रो भयो ।

नेपालको मध्य भागमा पर्ने चितवनमा शुक्रवार एमालेले नारायणी किनारमा निर्माण गरेको विशेष मञ्चमा देशका विभिन्न भागबाट एमालेका नेता कार्यकर्ता र जनसमुदायको उपस्थितिले एमालेका शीर्ष नेता उत्साहित भएका थिए । हरेक माघे सङ्क्रान्तिमा देवघाटमा हुने विशाल मेलामा व्यापक जनसहभागिता हुने गरे पनि पछिल्लो समय यहाँ यस प्रकारको जनसहभागितामा राजनीतिक कार्यक्रम भएको थिएन । 

दोस्रो जनआन्दोलनताका पछि सम्भवतः सबैभन्दा धेरै जनसहभागिताको कार्यक्रम शुक्रवारको एमालेको महाधिवेशनको उद्घाटन सत्रमा देखिएको स्थानीयवासी बताउँछन् । सहभागी नारायणी पुल, नारायणी पारी, मञ्च नजिकका घरका छत र रुखासमेत बसेर मञ्चतर्फ आँखा लगाइरहेका देखिन्थे ।

बिहानैदेखि विभिन्न ठाउँबाट आएका एमाले कार्यकर्ता र समर्थक भरतपुर र नारायणगढ छिर्न थालिसकेका थिए, जसका कारण महानगरको सवारी व्यवस्थापन जटिल बनेको थियो । मध्यान्ह १२ बजेपछि भने नारायणीतिरमा एमालेको लाखौँको उपस्थितिमा जनसभा आरम्भ भयो । आएका सबैले मञ्चमा हेर्न र मच्च नजिक जान चाहने भएकाले सहभागीबीच घुइँचो देखिएको थियो । औपचारिक उद्घाटन हुनु पहिला मञ्चमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको टोलीबाट विविध जातजातिगत धुन र सांस्कृतिक प्रस्तुति दिन थालेका थिए । सभामा शुभकामना दिन प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हेलिकोप्टरबाट अवतरण भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेता मञ्चमा स्वागतार्थ पुग्नुभयो ।

एमालेका नेता रामबहादुर थापाले स्वागत मन्तव्य दिएपछि अध्यक्ष ओलीले नेपालको झन्डा, पार्टीको निर्वाचन चिन्ह (सूर्य) र कम्यूनिष्ट पार्टीको झन्डा फहराएर महाधिवेशनको भव्य उद्घाटन गर्नुभयो । 

कार्यक्रममा प्रधानमन्त्री देउवा लगभग पुरै अवधि बस्नुभयो भने शुभकामनाका क्रममा नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटीका सदस्य लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायतका नेताले शुभकामना मन्तव्य दिनुभयो । 

आम सहभागी सभामा एमालेका जिल्ला अध्यक्ष पार्वती रावलले धन्यवाद र सञ्चालक पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले समापन भएको घोषणा नगर्दासम्म नारायणीतिरमा झुम्मिएका थिए ।

कार्यक्रममा पार्टीको आधिकारिक मुख पत्र नवयुग अनलाइनको अध्यक्ष ओलीले शुभारम्भ गर्नुभयो भने पार्टीसँग सम्बन्धित भिडियो, प्रेस चौतारी नेपाल, चितवनको स्मारिका र नयाँ गीतहरू विमोचन गरिएको थियो । 

अध्यक्ष ओलीले सम्बोधन गर्दै गर्दा कार्यकर्ताले समर्थनको ताली बजाएका थिए । उनीहरूले एमाले जिन्दाबाद र केपी ओली आइलभयुजस्ता नारा लगाइएका थिए । अध्यक्ष ओलीले महाधिवेशनबाट देश र पार्टी हाँक्न सक्ने खालको नयाँ नेतृत्व चयन हुने जनाउनुभयो । उहाँले उच्चस्तरको समझदारी, एकता र लोकतान्त्रिक अभ्याससहित उदाहरणीय किसिमले बन्द सत्र सफल भई नयाँ नेतृत्व घोषणा हुने विश्वास व्यक्त गर्दै अबका दिनमा निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई आह्वान गर्नुभयो ।

जनसभामा चितवनका नगर र गाउँबाट विविध झाँकीसहित मानिसको उपस्थिति थियो । मानिसको भीडका कारण सवारी जाम हुँदा लामो दुरी पार गर्ने प्रभावित भएका थिए । कतिपय सहभागी भने सभा सकिएपछि मात्रै मञ्चमा पुगेका थिए । महाधिवेशनमा स्वास्थ्यकर्मी र स्वयंसेवक टोली परिचालन गरिए पनि व्यापक जनसहभागिताका कारण उचित व्यवस्थापन गर्न पनि कठिन भएको थियो । सहभागीलाई पिउने पानी र शौचालयको असुविधा भएको थियो ।

एमालेका जिल्ला नेता राम न्यौपानेले दशौँ महाधिवेशनले चितवनमा कोभिडबाट प्रभावित पर्यटनसँगै यहाँको यातायात क्षेत्र समेतमा सकारात्मक प्रभाव परेको बताउनुभयो । न्यौपानेले सौराहामा रु १० करोड र भरतपुर क्षेत्रमा रु पाँच करोडभन्दा बढीको कारोबार हुने विश्वास लिइएको छ । 

नेपाली काँग्रेसका जिल्ला नेता प्राडा सूर्यकान्त घिमिरे एमालेको महाधिवेशन चितवनमा हुनु सकारात्मक भएको र नेपालको बहुलवादी संस्कृतिलाई आत्मसाथ गर्न सक्ने संस्कृतिलाई महाधिवेशनले बोक्न सकोस् भन्ने कामना गर्नुभयो । 

कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार डा घिमिरेले देश निर्माणका लागि सहमति, सहकार्य र एकतालाई प्रवर्द्धन गर्न सक्ने राजनीतिक कार्यसूचीमा एमाले आउनुपर्ने बताउनुभयो ।

सभालाई व्यवस्थित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्चाधिकारीको टोली परिचालित थियो । सबै निकायका गरेर एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । महाधिवेशनका कारण चितवन र नवलपरासीको कावासोतीसम्मका अधिकांश होटेल बुक भएका छन् ।रासस

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : ४३ बजे