मिचिएको जमिन फिर्ता लिएपछि मात्र  वास्तविक मित्रता र छिमेकीको सम्बन्ध कायम हुनेछ : अध्यक्ष ओली 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन  फिर्ता लिएपछि मात्र बास्तविक मित्रता र छिमेकीको सम्बन्ध कायम हुने बताउनु भएको छ । 

चितवनमा सुरु भएको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले नेपालले सबै छिमेकी राष्ट्रहरूसँग सहकार्य गरेर, समदूरी कायम राखेर अघि बढ्ने चाहेको बताउनुभयो ।

‘‘लिम्पियाधुरा लिपुलेक र कालापानीको हाम्रो भूगोल हामी नेपालको नक्सामा समेटेका छौँ । त्यसलाई संविधानको अंग बनाएका छौँ । तर, त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ,’ उहाँले भन्नुभयो,‘हामी छिमेकीसँग संवादको माध्यमबाट त्यो जमिन फिर्ता लिनेछौँ । फिर्ता नलिएसम्म हामीलाई दबिएको, हेपिएको भन्ने अनुभूति भइरहन्छ । त्यसैले हामी त्यो जमिन फिर्ता लिएर हामी वास्तविक मित्रता, वास्तविक छिमेकीको सम्बन्ध कायम गर्न चाहन्छौँ ।’

अध्यक्ष ओलीले अब विश्व सहकार्यका साथ अघि बढ्नुपर्ने समय रहेको बताउनुभयो । ‘हामी सबैसँग समदूरीको सम्बन्ध चाहन्छौँ । ठूला–साना, गरिब–धनी, जनसंख्यामा जे भए पनि सबै राष्ट्रहरूको सार्वभौमसत्ता समान छ, सबैले सबैलाई समान हिसाबले लिनुपर्छ । एमाले यस्तो समानतामा विश्वास राख्दछ,’ ओलीले भन्नुभयो  ।

उहाँले एमालेले कसैलाई पनि शत्रु र मित्रुका रुपमा नलिएर आपसी समझदारी र सहकार्यबाट अघि बढ्न चाहेको बताउनुभयो  । 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ४ : ०४ बजे