सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमतको सरकार चाहिन्छ : अध्यक्ष ओली

चितवन । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमतको सरकार चाहिएको बताउनुभएको छ ।  

पार्टीको १० औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै ओलीले जनादेशका लागि जान खोज्दा रोकिएको स्मरण गर्नुभयो । अरु राजनीतिक शक्तिहरुले जनतामा जान डराएर चुनाव रोकेको बताउँदै ओलीले े केही समयपछि नै अब चुनाव हुने र एमालेको सरकार बन्ने बताउनुभयो । उहाँले महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने पनि बताउनुभयो । ओलीले भन्नुभयो, ‘निकट भविष्यमा चुनावहरू आउँदैछन् । म भन्न चाहन्छु, हामी अब चुनावको तयारीतर्फ पनि जानेछौं । जनमतको तयारी गर्नेछौं ।’ 
देशको सार्वभौमसत्ता र लोकतनत्रको रक्षाको लागि एमालेको बहुमत चाहिएको भन्दै ओलीले आउने चुनावपछि एमालेको सरकार बन्ने र अधुरा काम पुरा गर्ने बताउनुभयो । 

‘संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अघि बढ्नका लागि एमालेले बहुमत ल्याउनुपर्ने ओलीले बताउनभुयो ।

ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताउनुभयो । ओलीले आफुलाई हिजो काम गर्न नदिनेहरुले नै वर्तमान प्रधानमन्त्री देउवाको पनि खुट्टा समाइरहेकोले देउवा नेतृत्वको सरकारले केही गर्न नसक्ने बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रधानमन्त्री काम गर्न चाहनुहुन्थ्यो कि, तर मेरो खुट्टा समात्नेहरु उहाँ (प्रधानमन्त्री)का खुट्टा समातिरहेका छन् कि, गोपनीयता खुस्काउनैपर्ने भयो, आउँदो चुनावपछि एमालेको सरकार बन्छ, एमालेले बाँकी रहेका विकासका कामहरु गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने काम गर्छ ।’

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ३ : ४१ बजे