विभक्त मनहरु पुनः एकतावद्ध हुनेछन् : लीलामणि पोखेरल

चितवन । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले कम्युनिष्ट एकताको आवश्यकताले आज विभक्त मनहरु पुनः एकतावद्ध हुने बताउनुभएको छ । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिनिधिका रुपमा एमालेको दशौं महाधिवेशनमा शुभकामना मन्तव्य दिनुहुँदै पोखरेलले कम्युनिष्ट आन्दोलन पुनः एकताको दिशामा जानुपर्ने बताउनुभयो  ।

‘हाम्रा आग्रह र संकिर्णताले आज जितेजस्तो देखिएपनि, आज हाम्रो आन्दोलन अल्मलिए जस्तो देखिएपनि आज विभक्त मनहरु पक्कै भोली फर्कनेछन् । एकता, संघर्ष र सहकार्य संस्कृतिको साझा प्रयास जारी राख्नुपर्छ’, पोखरेलको भनाई थियो  । पोखरेलले केही फरक मान्यता र परिवेशले माओवादी केन्द्र र एमाले अलग हुन पुगेको बताउनुभयो । 

उहाँले नेपाल कम्युनिष्ट आन्दोलनमा जनताको विश्वास रहेको भए पनि नेताहरूमा भएका संकीर्णताले असर गरेको बताउनुभयो  । 

एउटै दलले मुलुकको विकास र समृद्धि गर्ने नसक्ने भन्दै उहाँले एकता, सहकार्यको नीतिले चल्नुपर्ने बताउनुभयो  । कम्युनिष्ट पार्टीको एकता आवश्यक रहेको भन्दै उहाँले अहिले नयाँ चुनौती र सम्भावना रहेको र महाधिवेशनमा सहभागी भएका नेताहरूले मनन गर्ने विश्वास व्यक्त गर्नुभयो  । 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  २ : ३७ बजे