एमाले महाधिवेशनका लागि नेपाल आइपुगे ४ देशका १५ विदेशी पाहुना 

 अहिलेसम्म चीनसहित २५ देशबाट सन्देश प्राप्त

काठमाडौं । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनमा  चार मुलुकका राजनीतिक दलले भौतिकरुपमै सहभागिता जनाउने हुनुभएको छ भने अहिलेसम्म
 २५ मुलुकका दलले शुभकामना सन्देश पठाउनुभएको छ । 
 एमाले विदेश मामिला विभागले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भोलीदेखि सुरु हुने महाधिवेशनमा चार मुलुकका ८ वटा राजनीतिक दलका १५ पाहुनाले महाधिवेशमा सहभागीता जनाउने जानकारी दिइयो । 
महाधिवेशनमा दक्षिण छिमेकी भारतबाट सत्तारुढ भारतीय जनता पार्टी ९बीजेपी०सहित पाँच दलका प्रतिनिधिले महाधिवेशनमा भाग लिने हुनुभएको छ ।  बीजेपीको तर्फबाट पूर्वस्वास्थ्यमन्त्री हर्षबद्र्धन र राष्ट्रिय सचिव हरिश द्धिवेदीले सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो  । 

हर्षवद्र्धन र द्धिवेदी आजै अपरान्ह काठमाडौं आइपुग्नुभएको छ । भाकपाबाट पल्लव सेन गुप्ता, भाकपा माक्र्सवादीबाट जोगेन्द्र शर्मा, भाकपा माक्र्सवादी लेनिनवादी लिब्रेसनबाट वीरेन्द्रप्रसाद गुप्ता र सन्दीप सौरभ आइपुग्ने हुनुभएको छ ।  । भाकपा लिब्रेसन बिहारको दल भएकाले गुप्ता र सौरभ सडकमार्गबाटै चितवन पुग्नुहुनेछ ।

यसैगरी महाधिवेशनमा कम्बोडियाबाट सुस याराको नेतृत्वमा चार सदस्यीय डेलिगेसन टोली आउँदैछ । बंगलादेश कम्युनिष्ट पार्टीको तर्फबाट हसन तारिक चौधरीको नेतृत्वमा तीन सदस्यीय टोली काठमाडौं आइपुगेको एमालेले जनाएको छ ।

पत्रकारसम्मेलनमा अहिलेसम्म २५ मुलुकबाट शुभकामना सन्देश प्राप्त भएको विदेश मामिला विभागका प्रमुख डा. राजन भट्टराईले जानकारी दिनुभयो । ब्राजिल र भियतनामबाट शुभकामना सन्देश आउने क्रममा रहेको उहाँले जानकारी दिनुभयो  । कतिपय देशका राजदूतहरुलाई पनि निम्तो गरिएको र कतिपयले महाधिवेशनमा आउने जानकारी दिएको भट्टराईले बताउनुभयो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दल अल रसियन पोल्टिक पार्टी युनाइटेड रसियासहितका पार्टीले शुभकामना सन्देश पठाइसकेको भट्टराइले बताउनुभयो । ग्रीस, म्यानमार, टर्की, आयरल्यान्ड, फ्रान्स, चीन, जर्मनी लगायत मुलुकका राजनीतिक दलले शुभकामना सन्देश पठाएको उहाँले बताउनुभयो ।

कोरोना महामारीको कारण देखाउँदै जर्मनी र फ्रान्सका दलहरुले भौतिकरुपमा आउन नसक्ने बताउँदै शुभकामना सन्देश पठाएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले शुभकामना सन्देश पठाएको छ । 

‘कम्युनिस्ट मुलुक क्यूवाले कोरोनाकै कारण आउन नसकेको जानकारी दिएको उहाँले जानकारी दिनुभयो । उत्तर कोरियालाई पनि निम्तो गरिएको र शुभकामना सन्देश पठाउने जानकारी पठाएको पत्रकारसम्मेलनमा जानकारी दिइइयो । 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ४ : ०५ बजे