एमाले सचिवमा उम्मेदवारी दिने शेरधन राईको घोषणा

चितवन । एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताउनुभएको छ । 

भोलिदेखि चितवनमा सुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर आइपुगेका राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको प्रतिक्रिया  दिनुभयो । 

एमालेले यसअघि विधान अधिवेशन गरिसकेको छ । नयाँ नेतृत्वका लागि राष्ट्रिय महाधिवेशन गर्न लागेको हो । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट राई पोलिटव्युरो सदस्यमा निर्वाचित हुनुभएको छ । 

‘यसपटक राष्ट्रिय महाधिवेशनमा आफूलाई सबैभन्दा कान्छो पदाधिकारीको रूपमा प्रस्तुत गर्ने निधो गरेको छु । त्यो भनेको  हामीले विधान महाधिवेशनमा सात जना सचिवको व्यवस्था गरेका छौँ । त्यो सातमध्ये एउटा सचिवमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने तयारी गरेको छु’, उहाँले भन्नुभयो । 

एमालेले यसपटक महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशनका रूपमा सम्पन्न गर्ने संकल्प गरेको उहाँले बताउनुभयो । त्यसैअनुरूप नेतृत्वलगायतका नेताहरूले पहलकदमी लिएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ३ : ०२ बजे