सात महिनापछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेट हुँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सात महिनादेखि भेटवार्ता र संवाद ठप्प छ । प्रधानमन्त्रीबाट हटेपछि बालुवाटार छाडेर बालकोट फर्किनुभएका ओली त्यसयता बालुवाटार फर्किनुभएको छैन ।

प्रधानमन्त्री देउवाले धेरैपटक भेट्न चाहे पनि ओलीले इच्छा देखाउनुभएको छैन । कतिसम्म भने देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण लिंदासमेत ओली राष्ट्रपति कार्यालय जानुभएन । निवर्तमान हुँदै गर्नुभएका  प्रधानमन्त्रीले नयाँ प्रधानमन्त्रीलाई स्वागत गर्दै शपथ ग्रहण समारोहमा सहभागी हुने परम्परा नै छ । तर, ओलीले त्यो परम्परा तोड्नुभएको थियो  ।

ओलीले आफूलाई भेट्न नचाहेपछि देउवाले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाउनुभएको थियो  । ओली र कार्कीबीच तीनपटकभन्दा बढी भेटवार्ता भइसकेको छ । तर, अब देउवा र ओलीबीच संवादहीनता अन्त्य हुने भएको छ । प्रधानमन्त्री देउवा एमालेको १०औं महाधिवेशनलाई सम्बोधन गर्न चितवन जाने तय भएकाले दुवै नेताबीच संक्षिप्त भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्री देउवा शुक्रबार बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पुग्नुहुनेछ  । उहाँ हेलिकोप्टरबाट चितवन जानुहुनेछ । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेर दिउँसो १ः१५ बजे देउवा काठमाडौं फर्कनुहुनेछ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  १ : ४५ बजे