देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

म एमालेको केन्द्रीय सदस्य नहुनुपर्ने कुनै कारण देख्दिनँ : केबी उप्रेती

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको मिति नजिकिँदै गर्दा केन्द्रीय सदस्यमा उम्मेदवार दिनेहरुको होडबाजी चल्न सुरु भएको छ । यसैबीच एमालेको केन्द्रीय सदस्यका लागि  राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहनुभएका नेता केबी उप्रेतीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।  

७३ लाखभन्दा बढी सहकारीका सदस्यहरुको नेतृत्व गर्नुभएका उप्रेतीको उम्मेदवारीलाई महत्वका साथ हेरिएको छ । एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका सचिवसमेत रहनुभएका उप्रेतीले खुला तर्फको केन्द्रीय सदस्यको उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो । एमालेको राजनीतिमा लामो समय बिताएका उप्रेती पछिल्लो समय सहकारी अभियानमा संलग्न रहेकाले पार्टीको सक्रिय राजनीतिमा देखिनुभएको थिएन ।  दोलखाको नाम्दुमा २०१७ साल असार १० गते जन्मनुभएका उप्रेती २०३५–०३६ सालबाट विद्यार्थी आन्दोलनमा होमिएर सक्रिय राजनीतिमा क्रियाशील हुनुहुन्छ । २०४५ सालमा पिपुल्स क्याम्पसमा अनेरास्ववियूको तर्फबाट स्ववियू सभापति बन्नुभएका  उप्रेतीले जनआन्दोलन र त्यसपछिको आम निर्वाचनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । अनेरास्ववियूका तत्कालीन अध्यक्ष शंकर पोखरेलको नेतृत्वमा निजी क्याम्पस स्ववियू काउन्सिललाई स्ववियू काउन्सिलमा एकीकरण गराएपछि शंकर पोखरेलको अध्यक्षतामा रहेको स्ववियू काउन्सिलको कोषाध्यक्ष भएर काम गर्नुभएका उप्रेती २०४७ मा एमालेको संगठित सदस्य बन्नुभएको थियो । उप्रेतीले पार्टीको शाखा कमिटी सचिव, इलाका कमिटी सचिव हुँदै काठमाडौं  विशेष जिल्ला कमिटिको सदस्य र सचिव भएर जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।  

केन्द्रीय सम्पर्क विभागको सदस्य हुँदै पछिल्लो समय एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागमा रहेका उप्रेती दुई कार्यकाल विभागको सदस्य हुँदै हाल सचिव बन्नुभएको हो ।  उप्रेती अहिले विभागका तर्फबाट नेकपा एमालेको दशौं  राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो ।  प्रस्तुत छ एमाले महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार घोषणा गर्नुको सन्दर्भमा रही चक्रपथ डटकमले गरेको कुराकानी : 

एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारीको घोषणा गर्नुभयो ।  खासमा तपाईंको उम्मेदवारी केका लागि हो ? 

म एमालेको केन्द्रीय विभागहरु मध्येबाट छानिएको प्रतिनीधि हुँ । विशेषतः मेरो धेरै समय सहकारी क्षेत्रमा बित्ने गरेको छ । अहिले सहकारी क्षेत्रमा कतिपय समस्याहरु पनि देखिएका छन् ती समस्याहरु समाधान गर्नका लागि पार्टीसँग समवन्य गरेर मात्र संभव छ । कतिपय नीति निर्माणका सवालमा बिना पार्टी केही पनि गर्न सकिने अवस्था हुँदैन । सहकारी क्षेत्रमा देखिएका कमीकमजोरीहरुलाई पनि पार्टीसँग समन्वय गरेर मात्र सही दिशानिर्देश गर्न सकिन्छ । सहकारी क्षेत्रका लागि अहिले कतिपय नीति र विधिका कुरा आवश्यक छन् । त्यसका लागि पार्टीमा लबिङ गर्ने, वकालत गर्ने र माहोल बनाउन अहिले पार्टीमा मेरो आवश्यकता छ भन्ने मैले ठानेको छु । म पार्टीमा लागेको पनि ३० वर्षभन्दा बढी भइसक्ण्यो । म शाखा कमिटिमा बसेको छु, जिल्लामा बसेको छु, विभागमा पनि बसेको छु । पार्टीको केन्द्रीय सहकारी विभागमै १० वर्ष बसेर काम गरिसकेको छु । पार्टीको केन्द्रीय सहकारी विभागको सचिव भएर पनि काम गरें । आजसम्मको अनुभवलाई अझ सक्रिय रुपमा लागू गर्न तथा पार्टी र सहकारीबीच आवश्यक समन्वय गरेर अगाडी बढाउनका लागि थप योगदान दिन सक्छु भनेर मैले पार्टी केन्द्रीय सदस्यका लागि उमेदवारी घोषणा गरेको हुँ ।  

सर्वसम्मतीको कुरा चलिरहँदा उम्मेदवारी दिनुभयो नि ? 

सर्वसम्मतीको पहलका लागि पनि उम्मेदवार हुन आवश्यक छ । उम्मेदवारी घोषणा नगरी त को आकांक्षी हो त्यो थाहै नहुने पनि भो नि । त्यसकारण मैले उम्मेदवारीको घोषणा गरेको हुँ । सर्वसम्मतीका लागि पनि के–के आवश्यकता पर्ने हो, त्यसमा पनि म नपर्ने कुनै कारण भने म देख्दिनँ । मसँगै काम गरेका साथीहरु विगतदेखि नै केन्द्रीय कमिटिमा हुनुहुन्छ । पिपुल्स क्याम्पसमा २०४५ सालमा अनेरास्ववियूको तर्फबाट स्ववियू सभापति भएर विद्यार्थीदेखि भुगोल, विभाग सबैतिर काम गरेको हुनाले सर्वसम्मतीको सूचीमा पनि मेरो नाम आउँछ । फेरि सर्वसम्मती गर्ने कुरामा पनि मेरो सहयोग नै हुन्छ । त्यसमा म बाधक हुन्नँ । सर्वसम्मत नहुँदा पहिचान त हुनुपर्यो । कहाँ छ, के काम गरिराछ, मेचीमहाकालीमा चिनाउनुपर्यो, उमेर पनि ६० पुगें, समय पनि धेरै बाँकी छैन । त्यसकारण पनि मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ । 

पार्टीको सहकारी विभागमा सचिवको रुपमा काम गर्न पाइरहनु भएकै थियो, केन्द्रीय सदस्य नै किन बन्नुपर्यो त ? 

विभागको सचिवको मात्र पहुँचले सबै काम गर्न सकिँदैन । नीति निर्माण गर्ने, गरिएका निर्णय राज्यको पहुँचमा पुर्याएर त्योभन्दा बढी काम गर्न कार्यकारी भूमिका जरुरी हुन्छ । कतिपय नीतिगत निर्णयहरु गर्नका लागि केन्द्रीय कमिटिमा पूर्ण रुपमा सहकारीमा काम गरेको व्यक्ति नभई नहुने रहेछ । निर्णय गर्ने ठाउँमा आफू नभइ कतिपय कामहरु गर्न सकिन्नँ पनि । केन्द्रीय कमिटी भनेको त कार्यकारी ठाउँ हो, त्यही भएर जिम्मेवारी लिएर केन्द्रीय समितिमा जानैपर्ने हुन्छ । विभाग भनेको मस्यौदा बनाउने टेबुलवर्क गर्ने र सुझाव दिने मात्र ठाउँ हो । नेतृत्वमा हस्तक्षेपका मेरो उमेदवारी होइन, सहकारी क्षेत्रमा सुधार गर्न नीति निर्माणमा प्रत्यक्ष सहभागी हुन र आवश्यक संयन्त्रहरुलाई दिशानिर्देश गर्नका लागि केन्द्रीय सदस्य बन्न आवश्यक देखेर अहिले उम्मेदवारी घोषणा गरेको हुँ । विभागको सचिवमा बसेर जे काम गरियो त्यसलाई मुर्तरुप दिन पनि केन्द्रीय समितिमा जान आवश्यक देखिरहेको छु ।  

विभागभन्दा थप कामहरु अगाडी बढाउनका लागि पनि केन्द्रीय सदस्य आवश्यक देख्छु म । सहकारी क्षेत्रमा काम गरेका धेरै साथीहरु (करिब २ सय जना) महाधिवेशन प्रतिनीधि भएर आउनु भएको छ । उहाँहरु भुगोलबाट प्रतिनिधि बन्नु भएको हो, पार्टीको सहकारी तथा गरिबी निवारण विभागबाट प्रतिनिधित्व अहिले मैले नै गरेको छु । त्यसकारण मेरो उम्मेदवारीले समग्र सहकारीकर्मी साथीहरुको भावनालाई प्रतिनीधित्व गर्छ भन्ने म ठान्छु । म केन्द्रीय सदस्य भइरहँदा सम्पूर्ण सहकारीकर्मी साथीहरुका समस्या समाधनाका लागि प्रतिनीधित्व भएको रुपमा पनि बुझ्न सकिन्छ । त्यसैले पनि आम सहकारीकर्मीहरुको भावना पुरा गर्नका लागि पनि मेरो उम्मेदवारीले सहयोग नै पुर्याउँछ भन्ने मलाई लाग्छ । पार्टीको सक्रिय राजनीति गरेर नीतिगत निर्णय गर्ने ठाउँबाटै सहकारी क्षेत्रमा देखिएका समस्या सुधार गर्न सकिन्छ, कमीकमजोरीलाई न्युनिकरण गर्न सकिन्छ भन्ने मलाई लाग्छ । त्यही भएर पनि मैले उम्मेदवारी दिएको हुँ ।  

सहकारी बैंकको अध्यक्ष जस्तो मान्छे पार्टी राजनीतिमा लाग्दा विवाद हुँदैन ? 

बैंकको अध्यक्ष हुँदा पनि म सर्वपक्षीय सहमती गरेरै आएको हुँ । एमाले माओवादी, काँग्रेसमा आवद्ध सहकारीकर्मीहरुको बीचमा निश्चित संख्या पठाएर म छानिएर आएको हुँ । उहाँहरुले सहकारीमा लागेका मान्छेहरु मध्येबाट मलाई रोज्नु भएको हो । राष्ट्रिय सहकारी महासंघमा पनि म छु, त्यहाँ पनि सर्वपक्षीय सहमतीबाटै नेतृत्व ल्याउँछौ, जिल्ला संघ काठमाडौँमा पनि म अध्यक्ष भएर दुई कार्यकाल नेतृत्व गरे, त्यहाँ पनि सहमतीबाटै आएको थिएँ । त्यसकारण यसले झन् सहयोग नै पुग्छ । खासगरी राजनीतिकरण भनेको संस्थाबाट सेवा लिने र दिने कुरामा विभेद गर्नुहुँदैन । कार्यसम्पादनका लागि त विभिन्न पार्टीका मान्छेहरु चाहिने रहेछ । त्यस हिसाबले पनि म केन्द्रीय सदस्य हुँदा थप सहयोग नै पुग्छ भन्ने आशा राखेको छु । पहिला म बैंकमा प्रवन्ध सञ्चालक थिएँ, त्यतिबेला म कर्मचारी थिएँ । त्यतिबेला मैले यसरी उठ्न हुँदैनथ्यो । अहिले म बिना तलबको अध्यक्ष हुँ, त्यसैले अहिले यो बेला म उठ्नु उपयुक्त हो भन्ने ढंगले म केन्द्रीय सदस्यमा उठ्न लागेको हुँ । मेरो उम्मेदवारीले विवाद ल्याउने भन्दा पनि सहकारीको अभियानलाई थप सहयोग पुर्याउछ जस्तो मलाई लाग्छ ।

महाधिवेशन प्रतिनिधिहरुलाई के भन्न चाहानुहुन्छ ? 

सहकारी क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि पार्टीसँग समन्वय गरेर नीतिनियम बनाउन आवश्यक हुन्छ । पार्टीका नीति निर्णयहरु कार्यान्वयन गर्न पनि सहकारीसँगको समन्वय जरुरी छ, अर्को कुरा सहकारी क्षेत्रमा देखिएका कमी कमजोरीलाई न्यूनिकरण गर्न पार्टीले ठोस नीति र विधानअनुसार काम गर्नुपर्ने हुन्छ । हाम्रो पार्टी नेकपा एमाले समाजवाद उन्मुख अर्थतन्त्र ल्याउन तल्लिन छ, समाजवादउन्मुख अर्थतन्त्र ल्याउन सहकारीसँग समन्वय गर्न अनिवार्य हुन्छ । समाजवादका लागि सहकारीकोे भूमिका सबैभन्दा ठूलो हुन्छ ,त्यसकारण सुखी नेपाली, समृद्ध नेपालको आकांक्षा पुरा गर्न, आर्थिक संमृद्धिको कुरा कार्यान्वयनमा ल्याउन सहकारीका अनुभवहरु पार्टीमा हुनु आवश्यक हुन्छ । सहकारीका सफल अनुभवहरु पार्टीमार्फत नीतिगत रुपमै लागू गर्न र सहकारीमा देखिएका कमीकमजोरी हटाउन नीति निर्माण गर्ने भूमिका खेल्नका लागि नै मैले एमालेको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएको हु । सम्पूर्ण प्रतिनिधिहरुले मलाई मुलुकको अर्थतन्त्रको एउटा महत्वपूर्ण आधार सहकारी क्षेत्रको प्रतिनिधिको रुपमा केन्द्रीय सदस्यमा निर्वाचित हुने अवसर दिनुहुन्छ भन्ने अपेक्षा सहित आवश्क समर्थन र सहयोग गरिदिनु हुनेछ भन्ने आशा राखेको छु ।

 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १ : ५७ बजे