‘एउटै नाउरको सिकार गर्न २३ लाख’

अमेरिकामा इन्धन पाइपलाइनमा साइबर हमला, आपत्काल घोषणा

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा  साइबर हमला भएको छ । साइबर हमला भएपछि आइतवार त्यहाँको सरकारले आपतकाल घोषणा गरेको बीबीसीले जनाएको छ ।

साइबर हमलापछि सेवा सुरु गराउने प्रयास जारी छ । तथापि अझै सेवा दिन नसकिएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्दै आएको कोलोनियल पाइपलाइनमा शुक्रबार साइबर हमला भएको हो । यसलगत्तै त्यहाँबाट इन्धन आपूर्ति पूर्णरूपमा बन्द छ । इस्ट कोस्टको निम्ति आवश्यक पर्ने डिजेल, ग्यासोलिन तथा जेट इन्धनको सम्पूर्ण आपूर्तिको यहाँबाट ४५ प्रतिशत आयात हुँदै आएको जनाइएको छ ।

आपत्काल घोषणा गरिएपछि सडकमार्गबाट इन्धन ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । साइबर हमलाको असर अमेरिकी तेल बजारमा सोमवार इन्धनको मूल्य २(३ प्रतिशतले बढ्न सक्ने अनुमान विज्ञहरुले गरेका छन् ।

उक्त ‘र्‍यान्समवेअर’ हमला डार्कसाइड नामक साइबर आपराधिक समूहले गराएको पुष्टि अधिकारीहरूले दाबी गरेका छन् । सो समूहले बिहीवार कोलोनियलको नेटवर्कमा छिरेर करिब १०० जीबी डेटामा पकड जमाएको जनाइएको छ । 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : २७ बजे