टाटासुमोले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु, ७ जना घाइते

रसुवा – रसुवामा टाटासुमोले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् । जिल्लाको गोसाईंकुण्ड गाउँपालिका-६ ठाडेबाट धुन्चेतर्फ आइरहेको ना१ज ६१७६ नम्बरको टाटासुमोले धुन्चेबाट ठाडेतर्फ गइरहेका पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

टाटासुमोको ठक्करबाट ठाडेकी ४ वर्षीया बालिका नैनी घलेको मृत्यु भएको छ । उनकी फुपू वर्ष ३० की ऊर्जा घले र दाइ वर्ष ८ का करन घले घाइते भएका छन् । धुन्चेबाट ठाडेतर्फ जाँदै गरेका उनीहरू तीन जनालाई टाटासुमोले ठक्कर दिएको  प्रहरीले जनाएको छ ।

पैदलयात्रीलाई ठक्कर दिएको सुमो सडकबाट करिब ५० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ । सुमोमा सवार चालकसहित चार जना पनि घाइते भएका छन् । प्रहरीका अनुसार सुमो चालक जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाका छिरिङ दोर्जे तामाङ, गाडीमा सवार यात्रु रमेश लोप्चन, याङसेन घले र गाडी साहुँ घाइते भएका छन् । गाडी साहुँको नाम भने खुलेको छैन । 

मृतक बालिकासहित ऊर्जा घले, करन घले, सुमो चालक छिरिङ दोर्जे तामाङ र गाडी साहुँलाई उपचारका लागि नुवाकोट लगिएको छ । सुमोमा सवार यात्रु रमेश लोप्चन र  याङसेन घलेलाई उपचारका लागि सदरमुकाम धुन्चे ल्याइएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए । मारग्याल्बो घलेलाई सामान्य चोट लागेको र अहिले उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

मंगलबार साँझ करिब सवा ५ बजे सडकमा हिँडिरहेका पैदलयात्री जोगाउन खोज्दा १ ज ६१७६ नम्बरको टाटासुमो अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । काठमाडौंबाट धुन्चे आउँदै गरेको उक्त सुमो ठाडे नजिकै दुर्घटना भएको हो । सुमो सडकबाट करिब ५० मिटर तल भीरमा खसेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : १५ बजे