प्रचण्डलाई ओलीको चुनौती– ‘झापामा आएर महाधिवेशन गर्नुहोस्’ 

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो निर्वाचन क्षेत्र झापामा आएर महाधिवेशन गर्न चुनौती दिनुभएको छ । 

१०औँ महाधिवेशनका सन्दर्भमा आयोजित सम्पादकसँगको अन्तर्क्रियामा बोल्नुहुँदै ओलीले कसैले चुनाव लड्नासाथ जिल्लै उसको नहुने बताउनुभयो । उहाँले भन्नुभयो,

‘कोही चुनाव कतैबाट लडेको छ भन्दैमा जिल्लै उसको हुनन्।’

प्रचण्डसँग आफ्नो लिनु दिनु केही नभएको भन्दै ओलीले कसैले चुनाव लडेको क्षेत्रमा अरूले पाइला टेक्न हुँदैन भन्नेहरू छन् भने  आफ्नो निर्वाचन क्षेत्र झापामा  आएर महाधिवेशन गर्न चुनौती दिनुभयो ।  

ओलीले भन्नुभयो, ‘प्रचण्डसँग मेरो कुनै लेनादेना छैन,उहाँलाई मेरो निर्वाचन क्षेत्रमा भन्ने लागेको छ भने दमकमा आएर गर्नुहोस् न त । दमकमा आएर गरे हुन्छ ।’

ओलीले भन्नुभयो, ‘महाधिवेशन कहाँ गर्ने समस्या होइन । रोल्पातिर गरौँ चुनाव लड्नु भएको छ । सिराहा गरौँ उहाँ लडेको छ । काठमाडौँमै गरौँ उहाँ चुनाव लडेको छ । चितवनमा गर्दा पनि उहाँ लडेको छ,’ ओलीले भन्नुभयो ।  ‘हामीले त आफ्नो पार्टीको चुनाव गरिरहेका हौँ । बरु म उहाँलाई झापा आउन आह्वान गर्छु । झापा आएर माओवादी अधिवेशन गर्नुस् ।’ 

‘मलाई सिद्ध्याउन यही (चितवन) बाटो हिँड्नु भयो भनेर आरोप लगाउनु हुन्छ । कसरी सकिन्न ? सिपीजीले महाधिवेशन सकेपछि भोलिपल्ट भनेकाले उहाँले उता भन्नू भएको होला, हामीलाई होइन पनि । उहाँको निर्वाचन क्षेत्रमा गएर गरे भन्ने लाग्छ भने मेरो निर्वाचन क्षेत्रमा आएर गर्नुस्,’ उहाँले भन्नुभयो  ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ३ : ३२ बजे