साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन : ओलीप्रति कार्यकर्ताको विश्वास

‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ मूल नाराका साथ नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । देशभरिबाट एक हजार नौ सय ९९ महाधिवेशन प्रतिनिधि चुनिएका छन् । कहीँ निर्वाचन त कहीँ सर्वसम्मत रूपमा राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन भएका छन् । 

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट चुनिएका प्रतिनिधिहरूमा हिजो नेकपा एमालेको विरुद्धमा समानान्तर कमिटी बनाएर हिड्नेहरु पनि छन् । नेकपा एमालेका कार्यकर्ताहरू आफ्नै पार्टीको विरुद्धमा उभिएर आफ्ना गल्ती सुधार गरेर आएकाहरूलाई माफी दिएर पनि महाधिवेशन प्रतिनिधिमा चयन गरेका छन् । यसको अर्थ एमालेका कार्यकर्ताहरू निषेधको राजनीति गर्दैनन् भन्ने कुराको सन्देश हो यो । 

नेकपा एमालेभित्र मौलाएको दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई यो महाधिवेशनले अन्त्य गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न सक्ने विचारमा दृढ, जनताले दिएको जिम्मेवारी पूरा गर्न सक्ने योग्य र सक्षम, इमानदार नेतृत्व चयन गर्न दशौं राष्ट्रिय महाधिवेशन सक्षम हुने छ । त्यति मात्र होइन, दशौं राष्ट्रिय महाधिवेशनले दुई धार, तीन तरेलीको नेतृत्व चयन गर्ने छ । पार्टीका महासचिव ईश्वर पोखरेलले भन्नु भएझैँ देश र जनताको पक्षमा निरन्तर नेतृत्व प्रदान गर्न पार्टीले दुई धार र तीन तरेलीको नेतृत्व स्थापित गर्नै पर्ने हुन्छ । यदि धार र तरेली ठिक ढङ्गले मिल्न सकेन भने सङ्गठन निरन्तर गतिशील रहन सक्दैन । महासचिव पोखरेलले भन्नु भएझैँ दुई धार मध्ये एक पार्टी लाइनका कार्यकर्ता हुन भने अर्को पार्टीप्रति विश्वास गर्ने तर विभिन्न क्षेत्रमा विज्ञको रूपमा अनुभव सँगाली सकेका विज्ञ समूहबाट पार्टी सङ्गठनमा समावेश गरियो भने समाजका हरेक विषयको आधारमा कार्यकर्ता खटाउन सकिने छ । 

त्यसैगरी सङ्गठनभित्र तीन तरेली पनि चाहिन्छ । यसलाई सरल भाषामा बुझ्न सकिन्छ । पहिलो ३० वर्षमुनिका कार्यकर्ता जसले कहिल्यै कपालमा कालो लगाउनु पर्दैन अर्थात् बलशाली युवा समूह, दोस्रो ५० वर्ष मुनिका जसले महिनामा दुई पल्टसम्म कपालमा कालो लगाउने उमेर समूहका केही बल केही विवेक प्रयोग गर्ने समूह समाजमा देखिने जस्तोसुकै परिस्थितिको सामना गर्ने समूह तेस्रो कपाल सबै फुलिसकेका ७० वर्ष नकटेका अर्थात् बुज्रुक समूह जो आफैमा पार्टीको लागि इतिहास बन्ने लाइनमा छ । जोसँग तीनै कालको अनुभव छ । हो, नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनले पार्टीका दिग्गज नेता केपी शर्मा ओलीदेखि अनेरास्ववियूका पूर्व सचिवालय सदस्य रहेका युवा नेता वसन्त बानियाँसम्मलाई केन्द्रीय कमिटीमा निर्वाचित गर्ने छ । जसले तीन तरेलीको नेतृत्व गर्दछ । यसो हुँदा नेकपा एमालेमा कहिल्यै नेतृत्वको खाँचो हुने छैन । 

दक्षिणपन्थी अवसरवादी तत्त्व रहितको एमाले
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनले दक्षिणपन्थी अवसरवादी तत्त्व र सङ्गठनमा अराजकता सिर्जना गर्ने तत्त्वलाई बिदा गर्ने छ । नेकपाभित्रका दक्षिणपन्थी अवसरवादी तत्त्वले पार्टीको बहुमतीय सरकार ढालेर प्रतिपक्षी दल नेपाली काँग्रेसलाई सरकारमा पुर्‍याएका थिए । 

नेपाली काँग्रेस जसलाई जनताले तिरस्कार गरेर सरकार बनाउने हैसियतबाट तल झारेका थिए । जनताले तिरस्कार गरेको नेपाली काँग्रेसको नेतृत्वमा संविधान मिचेर परमादेश जारी गरी सरकार बनाउन उद्धत रहेका माधव–झलनाथहरुले कम्युनिष्ट आन्दोलन बचाउन यस्तो कुकर्म गरेको उद्घोष गरेका थिए । नेपाल खनालहरूले नेपाली काँग्रेसलाई कम्युनिष्ट पार्टीको विकल्पमा बुझे भने त्योभन्दा दक्षिणपन्थी चिन्तन अरू के हुन सक्छ ? झापा आन्दोलनका योद्धा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरिरहेको सरकार ढालेर आफै प्रधानमन्त्री हुन खोज्ने यस्ता स्वार्थ समूहका नायकहरू मौका आउनासाथ कम्यूनिष्ट पार्टी, विचार, सिद्धान्त, आदर्श बिर्सेर आफ्नो अवसरवादी छवि देखाउन पछि हट्दैनन् भन्ने कुरा नेपाल खनालले सिद्ध गरेका छन् । उनीहरूले नेकपाभित्र दक्षिणपन्थी अवसरवाद र सङ्गठनभित्रको अराजकता देखाउनसम्म देखाए । यो उनीहरूको प्रवृत्ति हो । अब त्यो प्रवृत्ति हट्ने छ । अब नेकपा एमालेले दक्षिणपन्थी अवसरवादका अवशेषहरूको अन्त्य गर्दै सङ्गठनभित्रको अराजकता हटाउन विधान महाधिवेशनले विधानलाई सच्याएको छ । अर्थात् नीति बनायो, अब दशौं राष्ट्रिय महाधिवेशनले नीति कार्यान्वयन गर्ने सक्षम नेतृत्व प्रदान गर्ने छ । 

शक्तिशाली नेता पार्टी एमाले नै हो 
नेकपा एमाले नेता पार्टी हो । यसमा कसैले सन्देह नगरे हुन्छ । नेपालको समाज रूपान्तरणमा नेकपा एमालेले खेलेको भूमिकालाई हेर्ने हो भने यो देशको नेता पार्टी नेकपा एमाले नै हो । नेकपा एमाले विचारले सुदृढ पार्टी हो । जोसँग जनताको बहुदलीय जनवाद जस्तो मार्गदर्शक सिद्धान्त छ । एमालेसँग इमानदार कार्यकर्ता छन् । एमालेसँग इच्छाशक्ति भएको नेताहरू छन् । 

नेपालको राजनीतिक दलहरूमा लोकतान्त्रिक चरित्र भएको पार्टी नेकपा एमाले मात्रै हो । एमालेले एकै दिन सबै वडा र पालिका कमिटीहरूको एकै दिन अधिवेशन गरेर राष्ट्रिय महाधिवेशन गर्न अघि बढ्दै छ । सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको भावना अनुसार नेकपा एमालेले सबैभन्दा पहिला बहु पदीय नेतृत्व चयनको स्वरूप धारण गरेपछि अरू पार्टीले त्यसैको अनुसरण गर्न बाध्य भए । 

नेपालको राजनीतिमा मात्र होइन हरेक तहमा महिला सहभागिता बढाउने कार्यको नेतृत्व एमाले नेतृ तथा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले सबभन्दा पहिला महिलालाई ३३ प्रतिशत सहभागिताको आवाज उठाउनु भएको थियो । राष्ट्रपति भण्डारीले उठाउनु भएको यो आवाजलाई कुनै पनि पार्टीले रोक्न सकेन । महिलाको ३३ प्रतिशत सहभागिताले महिला वर्गको राजनीतिक तथा सामाजिक जीवन समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

नेकपा एमालेको पहिलो नौ महिने मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएको ज्येष्ठ नागरिक सम्मान भत्ता र आफ्नो गाउँ आफै बनाऔँ कार्यक्रमले केन्द्रको बजेट गाउँसम्म पुर्‍याएर आम जनतालाई देशको विकास निर्माणमा उतार्न सकिन्छ भन्ने सन्देश दिएको छ । तत्कालीन नेकपा एमालेले ल्याएको कार्यक्रम त्यसपछिका कुनै सरकारले हटाउन सकेन । पार्टीभित्रको आवधिक निर्वाचन, लोकतन्त्रप्रतिको विश्वास, कानुनी राजमा विश्वास गर्ने पार्टी एमाले मात्रै हो भन्ने कुरा पनि सिद्ध गरेको छ । हरेक चुनौतीको कसीबाट नेकपा एमाले पास हुँदै आएको छ ।

संविधान जारी भएपछि नेपालमा ओलीको नेतृत्वको सरकारले विकास निर्माण यसरी गर्नुपर्छ भन्ने सन्देश दिएको छ । ओली नेतृत्वको सरकारले तीन वर्षमा गरेको विकासका कामहरू हेर्ने हो भने बितेको २० वर्षमा हुन नसकेको काम भएको छ । ओली नेतृत्वको सरकारले जनतामा आशा जगाएको छ । उक्त सरकारले देखिने र महसुस गर्ने दुवै खाले काम एकै पटक सुरु गरेको थियो । जनताको जीवनस्तर उठाउनेदेखि जनतालाई विकास निर्माणको प्रत्याभूति दिलाउनेसम्मको काम गरेर नेपाली राजनीतिक दलहरूमा श्रेष्ठता स्थापित गरेको छ । नेता त्यो हो जसले समाजमा पथ प्रदर्शन गरोस् । नेकपा एमालेले आफूलाई पथ प्रदर्शक पार्टी भएको नेपाली जनतामा छाप छोड्न सफल भएको छ । 

त्यसैले नेपाली जनतामा नेकपा एमालेप्रति विश्वास बढ्न थालेको छ । अहिले देशैभरि नेकपा एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । यो बेला पार्टी प्रवेशको बेला होइन । तर पनि पार्टी प्रवेशको लहर किन चल्दैछ भन्ने कुराले अब नेपाल र नेपालीको समग्र क्षेत्रमा नेतृत्व गर्ने एमाले नै नेता पार्टी भएको सिद्ध गरेको छ । त्यसकारण एमालेको दशौं राष्ट्रिय महाधिवेशनले वर्तमान नेतृत्व होइन त्यसपछिको नेतृत्वको खोजी गर्न आवश्यक देखिन्छ । 

कार्यकर्ताको विश्वास र भरोसाको ओली 
कसैले चाहेर होस् वा नचाहेर होस् दशौं राष्ट्रिय महाधिवेशनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै नेतृत्व सुम्पिन्छ । किनभने एमालेका कार्यकर्ताहरूलाई ओलीप्रति विश्वास र भरोसा छ । तर, महाधिवेशनले ओलीपछिको नेतृत्वलाई पाइप लाइनमा लैजान सकेन भने फेरि पनि समस्या आउन सक्छ । 

अब आउने एघारौँ महाधिवेशनबाट नेतृत्वमा स्थापित हुन खोज्ने नेताले पनि आफ्ना कमी कमजोरीहरूलाई हटाउँदै कार्यकर्ताको भावना बुझेर अघि सर्न आवश्यक हुन्छ । कुनै पनि कार्यकर्ता नेतृत्वमा पुग्नु अगाडि केही कार्यकर्ताको विश्वास जित्न केही मुद्दाहरू बोकेर हिँड्नु स्वाभाविक हो । नेतृत्वमा आइसकेपछि पनि त्यसरी नै हिँडेको अवस्थामा उसले पनि पार्टीको घेरा बढाउन सक्दैन । उ गुट कै घेरामा रहन्छ । त्यसकारण एमालेका अहिले महाधिवेशनमा निर्वाचित वा चयन भएका प्रतिनिधिहरूले ठिक ढङ्गले नेतृत्व चयन गर्ने छन् । 

एमालेका कार्यकर्ताहरूले महाधिवेशन प्रतिनिधि चयन गर्दा कुनै पक्षपात गरेका छैनन् उनीहरूले हिजो पार्टीकै विरुद्धमा समानान्तर कमिटी बनाउनेहरूलाई पनि जिताएर पठाएका छन् । यसको मतलब हिजो उनीहरूले गठन गरेको समानान्तर कमिटीको समर्थन होइन उनीहरू सच्चिएर आएको कुराको समर्थन गरेका हुन् । दशौं राष्ट्रिय महाधिवेशनले पनि कुनै पक्षपात गर्ने छैन । हिजो नेकपा हुँदाको नेतृत्व चाहे माओवादी साइड होस् या नेपाल खनाल साइड होस् छुट्टयाउने छैनन् । त्यसकारण उ एमालेको कार्यकर्ता हो ।

यसरी, सबै पक्ष र विचार समूहलाई एउटै मालामा उनेर नेकपा एमालेको नेतृत्व स्थापित गर्न नेकपा एमाले सक्षम हुने छ । सायद, नेकपा एमालेले गर्ने यस्तो निर्णय अन्य कुनै पार्टी वा समूहलाई मन पर्दैन । उनीहरू नेकपा एमालेभित्र विध्वंस भएको हेर्न चाहन्छन् । जसरी नेपाल खनाल गुटले पार्टी टुक्र्याउन गरेको पहललाई पार्टी विद्रोह भन्ने गरेका छन् । विद्रोह किन र के का लागि त्यसको पुस्ट्याइँ गर्न नेपाल खनाल समूहसँग कुनै आधार छैन । उनीहरू कुनै सूत्रको खोजी गरिरहेका छन् कि नेकपा एमाले चोइट्याउनु पर्ने कारण । जनता प्रष्ट छन् एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न निक्कै मेहनत गरिरहनु भएको थियो । त्यही समयमा पार्टी चोइट्याएर नेपाल खनाल समूहले नेपाली कम्यूनिष्ट आन्दोलनप्रति गरेको गद्दारीलाई जनताले बिर्सेका छैनन् । 

त्यसैले, पार्टी टुक्र्याएर एकीकृत अनि व्यक्तिवादी सोच र चाहनालाई दिग्भ्रमित गर्न समाजवादी नाम राखेर पार्टी खोलेको हुनसक्छ । अहिले नेकपा एमालेप्रतिको जनलहरलाई आकलन गर्दै उनीहरू नेपाली काँग्रेस, माओवादी, जनता समाजवादी दल र एकीकृत समाजवादी पार्टी निर्वाचनसम्म गठबन्धन राखेर जाने निर्णय गर्न र गराउन चाही रहेका छन् । 

अब त्यो निर्णयले पनि थाम्ने वाला छैन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनपछि उनीहरू अब निर्वाचन नै नगराई फेरि अदालतमा परमादेश फर्माएर सत्तामा रहन चाहन्छन् । त्यति खेरसम्म बागमतीमा धेरै पानी बगिसकेको हुनेछ ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अखिल क्रान्तिकारीको जस्तै तोडफोड र नेतृत्व विरुद्ध नाराबाजी होस् । महाधिवेशनपछिको एमाले क्षत विक्षत होस् भन्ने एमाले विरोधी पार्टीहरूले कामना गरिरहेका होलान् । तर, त्यस्तो हुने बाला छैन । 

दशौं राष्ट्रिय महाधिवेशनले नेकपा एमालेलाई अझ सुदृढ एकता भएको ऊर्जाशील पार्टीको रूपमा उभ्याउने छ । महाधिवेशनपछिको एमाले झन् शक्तिशाली भएर उनीहरुबीच देखा पर्ने छ । यही शुभेच्छा प्रकट गर्दछु । 

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १० : २९ बजे