खेल क्षेत्रले राष्ट्रियता बलियो बनाउँछः नेता पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेपाल खेल पूर्वाधारको क्षेत्रमा अझै कमजोर रहेकाले त्यसमा लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ । एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ (नेकोसं) को आयोजनामा आइतबार यहाँ आयोजित खेल नीति सम्मेलनमा नेता पोखरेलले सो कुरा बताउनुभएको हो ।

खेल भावनाले सिङ्गो नेपालीलाई जोड्ने भएकाले खेल पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्ने उहाँले चर्चा गर्नुभयो । खेलकुदको विकास भएमा स्वतः खेलकुद विश्वविद्यालय स्थापना गर्नमा सघाउ पुग्ने भन्नुहुँदै नेता पोखरेलले खेल पूर्वाधार निर्माणका लागि जग्गाको उपलब्धतामा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । 

खेल मनोविज्ञानले राष्ट्रिय मनोविज्ञान बढाउनमा महत्वपूर्ण भूमिका खेल्छ प्रदेश ५ को पुर्व मुख्यमन्त्रीसमेत रहनुभएका नेता पोखरेलले भन्नुभयो, “राष्ट्रिय नेपाली टोली विदेशमा गएर खेल खेल्दा सिङ्गो नेपालीको भावना र ध्यान राष्ट्रिय टोलीतर्फ हुन्छ, यही राष्ट्रिय एकताको भावना हो ।”

ग्रामीण क्षेत्रमा खेल मैदानका लागि स्थानीय सरकारले जग्गा प्राप्तीमा ध्यान दिनुपर्ने चर्चा गर्नुहुँदै नेता पोखरेलले खेलकुदको विकासले नेपालको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । खेलकुद विकासका लागि नीतिगत पक्षमा पनि ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो । जतिधेरै दर्शकको सहभागिता हुन्छ, त्यति विज्ञापनको प्रवेश हुने चर्चा गर्नुहुँदै उहाँले विज्ञापनलाई आकर्षित नगरी खेल क्षेत्रमा लगानी भित्र्याउन कठिन हुने पनि बताउनुभयो । 

जति दर्शकको बृद्धि हुन्छ त्यति नै सुविधायुक्त रंगशालाको आवश्यकता पर्छ भन्नुहुँदै नेता पोखरेलले भन्नुभयो, “पहलकदमी र प्रतिस्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्ने नीति हामीले लिएका छौं, खेलकुदमा लागेका साथीहरुले पनि त्यसको अङ्गिकार गर्नुपर्छ ।” जनताको बहुदलीय जनवाद (जवज) ले पनि बहुलता भित्र प्रतिस्पर्धाकै आधारमा श्रेष्ठता हासिल गर्ने नीति लिएको उहाँले प्रष्ट पार्नुभयो । जनताद्वारा अनुमोदित प्रतिनिधि नै राजनीतिमा टिक्ने र खेलकुदमा पनि दर्शकको मन जितेको प्रतिनिधि नै टिक्ने उहाँले चर्चा गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुद आम मानिसको जीवनको अङ्ग बन्नुपर्ने बताउनुभयो । साँढेजुधाई, ककफाइट सबै खेलकुदको एउटा अङ्ग भएको उहाँले बताउनुभयो । खेलकुदलाई स्वस्थ मनोरन्जन र व्यवसायमा ध्यान दिनुपर्ने बताउनुभयो । 

खेलकुद विज्ञ ओमप्रकाश प्रसाईले नेपालमा खेलकुदको सम्भावना राम्रो भएपनि पूर्वाधार विकास अझै हुन नसकेको बताउनुभयो । खेलकुद क्षेत्रको विकासले देशको शीर उँचो हुनेहुनाले त्यसमा राष्ट्रिय लगानी आवश्यक रहेको सुझाव दिनुभयो । 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाी संघका अध्यक्ष दीपक श्रेष्ठले नेपाल खेलकुद ऐन अस्पष्ट रहेकाले त्यसको परिमार्जनको माग गर्नुभयो । खेलाडीको भविष्य सुनिश्चित गर्नेगरी खेल नीति परिमार्जन आवश्यक रहेको उहाँले सुझाव दिनुभयो । खेलकुद ऐनले खेलकुदकर्मीलाई पलायन गराउने काम गरिरहेको उहाँले टिप्पणी गर्नुभयो । ऐनले खेल विज्ञलाई सम्बोधन गर्न नसकेको बताउनुभयो । 

कार्यक्रम महासंघका अध्यक्ष रमेश पौडेलको सभापतित्वमा भएको थियो । कार्यक्रम भोली सोमबारसम्म सञ्चालन हुने आयोजकले बताएको छ ।
 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : २८ बजे