दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रामदेवले सञ्चालन गर्न लागेको टेलिभिजनप्रति पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौँ । भारतको पतञ्जली योग पिठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको घोषणा गरेसँगै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण जनाएको छ । 

आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सो च्यानलको उद्घाटन गरेको विषयमा समेत महासंघले ध्यानाकर्षण जनाएको हो । 

नेपालको प्रचलित कानुनले समेत सञ्चारमाध्यममा  विदेशी लगानीलाई निषेध गरेको अवस्थामा पतञ्जली योग पिठले टेलिभिजन खोल्नु नेपालको प्रचलित कानुनको ठाडो उल्लंघन भएको महासंघले उल्लेख गरेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी खुल्ला नगरिएका उद्योग वा व्यवसायको सूचीमा आम सञ्चारमाध्यमहरूलाई राखेको कानुनी प्रवन्धप्रति समेत महासंघले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।   

दर्ता प्रक्रियासमेत पूरा नगरी टेलिभिजन सञ्चालन गर्न लागिएकाले महासंघले सम्बन्धित पक्षलाई राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियामावली २०५२  र प्रसारणसम्बन्धी निर्देशिका स्मरण गराएको हो ।  

स्वदेशी सञ्चारमाध्यमको व्यावसायिकतामाथि आँच पुग्ने गरी आएको सञ्चार क्षेत्रमा विदेशी लगानीले नेपालको राष्ट्रियता, राजनीतिक,  आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पार्न सक्ने प्रभावप्रति सबै गम्भीर र संवेदनशील हुन आवश्यक रहेको समेत महासंघको निष्कर्ष छ । 

महासंघले कानुनविपरित सञ्चार क्षेत्रमा विदेशी लगानी रोक्न र स्वदेशी लगानीका सञ्चारमाध्यमलाई प्रतिस्पर्धात्मक तथा व्यावसायिक रूपमा विकास गर्ने वातावरण निर्माण गर्न समेत नेपाल सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ३ : ०६ बजे