राष्ट्रपति आउने भएपछि मटिहानीवासी उत्साहित

महोत्तरी । मुलुकको प्राचीन मिथिला क्षेत्रमा पर्ने महोत्तरीको मटिहानी नगर अहिले उत्सवमय देखिँदो छ । आफ्नो ठाउँमा राष्ट्रप्रमुख (राष्ट्रपति) आउने कार्यक्रमले मटिहानीवासीले यसलाई उत्सवका रूप दिएका हुन् ।  

भोलि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानीका धार्मिक स्थल, संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको ३०३ वर्ष पुरानो पाठशालाको अवलोकनसँगै नवनिर्मित रङ्गशाला समुद्घाटन गर्न आउने कुराले नगरवासीमा उत्साह छाएको हो । 

राष्ट्रपतिको मटिहानी (महोत्तरी) भ्रमण कार्यक्रमको राष्ट्रपति कार्यालयले पनि पुष्टि गरेको छ ।

यतिखेर मटिहानीका मुख्य चोक बजार केन्द्रमा राष्ट्रपतिका पूर्ण कदका तस्बिर टाँगिएका देखिँदो छ । ‘महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई धार्मिक नगरी मटिहानीमा हार्दिक स्वागत छ’ लेखिएका स्वागत द्वारले सबैतिर झकिझकाउ देखिँदो छ । मटिहानीवासीले यस अवसरलाई पर्व र उत्सवकै रूपमा लिएका छन् । आफ्नै ठाउँमा आफ्नै राष्ट्रप्रमुखको स्वागतको अवसर आफैँमा पर्व र उत्सव हुने मटिहानीवासी बताउँछन् । 

“हाम्रो ठाउँले त्रेता युगदेखि नै धार्मिक महत्त्व बोक्दै आएको छ, यसबाहेक संस्कृत शिक्षाको त यो पुरानो केन्द्र नै हो”, मटिहानी–८ का बासिन्दा पुराना राजनीतिक, सामाजिक अगुवा वृजनारायण लाल कर्ण भन्नहुन्छ, “पछिल्लो कालमा हाम्रो पुरानो पहिचान उजागर गर्ने प्रयत्न बढेका छन्, राष्ट्रप्रमुखले यो प्रयत्न अवलोकन गर्ने अवसर बन्दै छ, हामी खुसी छौँ ।” आफूहरूका लागि राष्ट्रपतिको अवाइ महत्त्वपूर्ण अवसर र पर्व नै हुने कर्ण बताउनुहुन्छ ।

महोत्तरीको मटिहानीअघि त्रेता युगमा राम–सीताको विवाहमा वेदि ९यज्ञ स्थल० निर्माण गर्न माटो खनिएको ठाउँका रूपमा विश्वास गरिन्छ । वेदिका लागि माटो खनिएको मानिँदै आइएको लक्ष्मी सागर (तलाउ) मिथिला क्षेत्रकै पवित्र स्थलका रूपमा अझै पूज्य रहेको पाका मैथिल बताउँछन् । 

यसबाहेक मटिहानीस्थित श्री लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर नेपाल र भारतका मठ परम्परामा पूज्यनीयस्थल रहँदै आएका मटिहानीस्थित राम माध्यमिक विद्यालय (लक्ष्मीनारायण मठले स्थापना गरेको)का अवकाशप्राप्त प्रधानाध्यापक चन्देश्वर साह बताउनुहुन्छ । 

भ्रमण क्रममा राष्ट्रपति भण्डारीले यी महत्त्वपूर्ण धरोहरको अवलोकन गर्नुहुने मटिहानी नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

मटिहानी संस्कृत शिक्षाको पुरानो केन्द्र रहँदै आएको छ । शिक्षा प्रेमी तथा सन्त बालगुरु षडानन (भोजपुर, दिङ्ला) ले शिक्षा लिनुभएको ३०३ वर्ष पुरानो तत्कालीन संस्कृत पाठशाला अहिले राजकीय संस्कृत माध्यमिक विद्यालयको नाममा मुलुकका विभिन्न भेगका विद्यार्थीलाई शिक्षा दिँदैछ । यही नै राजा जनकको दरबारका विद्वान मनिषी याज्ञवल्क्य र लक्ष्मीनारायण मठको संयुक्त नाममा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)मा स्नातकोत्तर तहसम्मको अध्ययन/अध्यापन हुँदै आएको छ । 

यसबाहेक धार्मिक परम्परामै मिथिलाको ‘महाकुम्भ’ भनिने मिथिला माध्यमिकी परिक्रमा (फागुन शुक्ल पक्षमा हुने)को यो जिल्लामा पहिलो र मिथिला परम्परामा चौथो दिनको विश्राम स्थलका रूपमा स्थापित रहेको मटिहानीवासी बताउँछन् ।

आफ्नो ठाउँको यो गौरवमय परम्परा भए पनि उपल्लो तहबाट उपेक्षित भएको अनुभूति लिँदै आएका मटिहानीवासी यतिखेर भने राष्ट्रप्रमुख नै आफ्नो ठाउँमा आउन लाग्नुभएको कुराले दङ्ग छन् । “बौवा, सुनैछी जे हमरासभक ठाममें राष्ट्रपति अबै छथि” (बाबु, सुन्दैछु हाम्रो ठाउँमा राष्ट्रपति आउँदै हुनुहुन्छ रे) मटिहानी–६ का बासिन्दा ८० वर्षीय इस्लाम धर्मावलम्बी विकाउ शेषले भन्नुभयो, “आब हमर जगहके पहिचान आओर उजागर होयत ।” (अब हाम्रो ठाउँको परिचय अझ उजागर हुनेछ) ।

राष्ट्रपतिको आगमन हुने कार्यक्रमले मटिहानीमा राजनीतिक दल, सामाजिक सङ्घसंस्था, महोत्तरी उद्योग वाणिज्य सङ्घ र आम नागरिक समाज एकाकार भएर स्वागतको तयारीमा लागेका छन् । 

“सम्पूर्ण मटिहानी नगर अहिले राष्ट्रप्रमुखको स्वागतका लागि एकाकार भएको छ”, मटिहानी–८ का बासिन्दा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य विजयकुमार साह भन्नुहुन्छ, “राष्ट्रपतिको आगमनले यस ठाउँबारे चासो बढ्ने हाम्रो विश्वास छ ।” 

खासमा पछिल्लो कालमा मटिहानीको धार्मिक र शैक्षिक पहिचानलाई बढाउन भइरहेका प्रयत्नलाई अझ मुखरित र व्यवस्थित गर्न राष्ट्रपतिको आगमनले सघाउ पुग्ने साहको विश्वास छ ।

मटिहानी नगरपालिकाको निमन्त्रणामा हुन लागेको राष्ट्रपतिको भ्रमण कार्यक्रमलाई सिङ्गो महोत्तरी जिल्लाले महत्त्व पाएको भन्ने अनुभूति लिइएको यहाँका राजनीतिक दलका अगुवाले बताएका छन् ।

“हाम्रो जिल्लामा राष्ट्रप्रमुखको आगमन हुँदैछ, हामीले यसलाई खास अवसरका रूपमा महत्त्व दिएका छौँ”, नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायले भन्नुभयो ।

राष्ट्रपतिको भ्रमण कार्यक्रमलाई व्यवस्थित र सम्झन योग्य बनाउन आफ्ना सारा प्रयत्न केन्द्रित गरिएको बताउँदै यसलाई महिला जागरणको अवसरका रूपमा पनि लिएको मटिहानी नगरपालिकाका उपप्रमुख शिवोदेवी साह बताउनुहुन्छ । “हामीकहाँ महिला शिक्षा अत्यन्त कमजोर अवस्थामा छ, सामाजिक, राजनीतिक र आर्थिक गतिविधिमा महिला सहभागिता कमजोर देखिन्छ”, उपप्रमुख साहले भन्नुभयो, “संयोग ठिक छ, हाम्रो राष्ट्रप्रमुख अहिले महिला हुनुहुन्छ, उहाँलाई देखेर यहाँका महिलामा नयाँ इच्छाशक्ति पलाउन र बढ्न सक्छ, हामी अगुवा महिलाले राष्ट्रपतिको आगमनलाई यो कोणबाट पनि सर्वसाधारण महिलामा उत्साह भर्दैछौँ ।” 

आसन्न राष्ट्रपतिको महोत्तरी भ्रमण कार्यक्रमले सबै राजनीतिक दलसँग सहकार्य, संवाद र सँगसँगै काममा अघि बढ्ने अवसर दिएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । रासस

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : ३० बजे