रविलाई भोलि काठमाडौं ल्याइने

प्रधानमन्त्री ज्यू रामदेवको चाकडी गर्ने की नेपाली आयुर्वेदलाई प्रवर्द्धन गर्ने ?  

हिजो मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय योग गुरु रामदेवलाई खुसी पार्न नेपाल सरकारले जग्गा दान गर्ने उद्घोष गर्नुभएको छ ।  

नेपाली आयुर्वेद टाट पल्टिनै लाग्दा समेत बेवास्ता गर्ने प्रधानमन्त्री देउवा भारतीय कम्पनी र भारतीय ब्रान्डको चाकडी र पोस्ने काममा यत्तिखेर तल्लीन हुनुले उनी नेपालीको हितमाभन्दा विदेशीको हितमा लागिरहेका छन् भन्ने कुराको यो सोझो प्रमाण हो ।

नेपालमा आफ्नो नयाँ टिभीको उद्घाटन गर्न आउनुभएका योग गुरु रामदेवको चाकडी गर्न नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेता तल्लीन देखिन्थे । सोही अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा आयुर्वेदिक औषधि बनाउन आवश्यक पर्ने जग्गादेखि अन्य कुरा पनि उपलब्ध गराउने घोषणा गरे । 

यत्तिखेर नेपाली जडीबुटीको उचित प्रशोधन हुन सकिरहेको छैन भने अर्कातिर नेपालमा खुलेका आयुर्वेद कारखानाहरू बन्द गर्नुपर्ने हालतमा पुगिरहेका छन् । 

नेपालमा रुग्ण अवस्थामा पुगेका जडीबुटी कारखानाहरूलाई  पुर्न उत्थान गर्नका लागि सरकारी तवरबाट केही भएको देखिँदैन । नेपाल सरकारकै स्वामित्वमा रहेको जडीबुटी कारखानाको अभिगत हामी सबैले देखेको बुझेकै हो । यस्तो अवस्थामा मुलुकभित्र रहेको आफ्नै कम्पनीलाई कुनै ठोस सहयोग नगरेका प्रधानमन्त्री देउवाले एकाएक भारतीय कम्पनीप्रति देखाएको सदासयताले धेरै नेपालीको कान ठाडो पारेको स्पष्ट छ । 

अझ  गुरिल्ला युद्ध गरेर नेपाली राजनीतिमा आएका प्रचण्डले समेत बाबा रामदेवलाई क्रान्तिकारी र वैज्ञानिक भनेर प्रशंसा गरे । देउवा र प्रचण्डको भाषणले यत्तिखेर वर्तमान सरकार साँच्चिकै ‘अरू कसको लागि कम्फर्टेबल ’रहेछ भन्ने हुँदैन र ? 

पतंजली भनेको भारतीय कम्पनी हो । जसको प्रवर्द्धन बाबा रामदेवले गर्दै आएका छन् । पतंजली गैरनाफा मूलक संस्था हो भन्ने हल्ला चलाइए पनि यसले वार्षिक कारोबार ५० हजार करोड अर्थात् ५० खर्ब रुपैयाँ भन्दा माथिको गर्ने गर्छ ।  खरबौँको व्यापार गर्ने यस्ता धनाढ्य कम्पनीलाई नेपाल सरकारले कुनै किसिमको सहयोग र पक्ष पोषण  गर्नुपर्ने कुनै कारण छैन ।  यस्तो कम्पनीले त बरु नेपाल सरकारलाई उल्टै खरबौँ रुपैयाँ आर्थिक सहयोग गर्न सक्छ । नेपाल सरकार भन्दा धनी पतञ्जलिलाई उल्टै सहयोग गर्नु एक किसिमको हास्यास्पद अभिव्यक्ति मात्र  हो । 

प्रधानमन्त्री ज्यू राष्ट्रिय जडीबुटीको कम्पाउन्ड वाल र पाले घर निर्माणका लागि जग्गा कहिले उपलब्ध हुन्छ ? राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रको गुरुयोजना तयार गर्न डीईआरको लागि बजेट व्यवस्था कहिले हुन्छ ? सहरी विकास तथा भवन विभागलाई भवन निर्माण गर्न पठाएको बजेटको प्रगतिको कुरा कता पुग्यो ? आफ्नै स्वदेशी कार्यालयको हरिबिजोग हुँदा प्रगतिको बाधक बन्ने तपाइले विदेशीलाई जग्गा दिन्छु आउनुस् सक्दो सहयोग गर्छु भन्नुको अर्थ के हो ?       

बाबा रामदेव भारतको अर्थतन्त्र मजबुत बनाउन विभिन्न देशमा पतञ्जलिको उद्योग खोलेर खर्बौ पैसा भारत भित्र्याई रहेका छन् ।  उनमा राष्ट्र प्रेम छ र राष्ट्रलाई मजबुत बनाउन लागेका छन् । बाबा रामदेवको उद्देश्य पतञ्जलिको उद्योग खोलेर नेपालमा भारतीय ब्रान्ड पतञ्जलिको विभिन्न सामान बिक्री गरेर उक्त व्यापारबाट भएको आम्दानी पुनः भारत लिएर जाने नै हो  ।

उनी कुनै समाज सेवा गर्न नभएर आफ्नो व्यापार प्रवर्धन गर्न नेपाल आएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । रामदेवले पतञ्जलिको मुख्य गन्तव्य भारतपछि नेपाल रहेको बताएका थिए जसको अर्थ हो भारत पछि पतञ्जलिका विभिन्न सामानहरू बिक्री हुने दोश्रो मुलुक नेपाल नै हो ।   

तर हाम्रो देश नेपालका नेताहरू भने आफ्नो देशको आयुर्वेद संस्थालाई बेवास्ता गर्दै विदेशी संस्थालाई जग्गा दान दिनुका साथै थप सहयोग गर्ने बाचा दिएर लम्पसार पर्नमै व्यस्त छन् । आफ्नै देशमा विदेशी उद्योग स्थापना गराएर गरिब नेपालीको पैसा भारत पलायन गराउन तर्फ उन्मुख र अग्रसर भएको देख्दा यस्ता दूरदर्शिता नभएका नेताहरूबाट जनताले कुनै सकारात्मक कामको अपेक्षा गर्नु मूर्खता मात्रै हो भन्न अब ढिला भइसक्यो ।    

नेपालको आयुर्वेद धराशायी र टाट पल्टिने अवस्थामा हुँदा वास्ता नगर्ने यिनै नेताहरू भारतीय भन्ने बित्तिकै दश बित्ता माथि उफ्रेर उल्टै उनीहरूलाई पोस्न जग्गा समेत दिने उद्घोष गरेको देख्दा जो सुकै नेपालीको चित्त दुख्नु स्वाभाविक हो । आफ्नो देशमा रहेको मौलिक र पुरानो आयुर्वेद संस्थाको वास्ता नगर्ने यस्ता राजनीतिक नेतृत्वले विदेशीलाई स्थापित गराउन हर सम्भव सहयोग गर्न तयार भएको देखेर दया लागेर आउँछ । 

योगाबाट सुरु भएको पतञ्जलि आयुर्वेदले सुरुमा आयुर्वेदिक औषधिबाट सुरुवात गर्यो र यसको सफलता पश्चात् यसले खाद्य पदार्थको उत्पादन तर्फ अघि बढ्यो । भारतमा पतञ्जलिले राम्रो पकड बनाउन सफल भएको छ र यसले बहुराष्ट्रिय कम्पनीहरूलाई टक्कर दिँदै आएको छ । पतञ्जलिले आयुर्वेदिक औषधी, शैंपू, साबुन, लिप बाम, स्किन क्रिम, तोरीको तेल, पिठो, घ्यू, बिस्कुट, नूडल्स, मसाला, तेल, चीनी, जूस, मह आदी उत्पादन गर्दै आएको छ ।

यस्तो ठुलो भारतीय कम्पनीलाई नेपालमा उद्योग खोल्न सरकारले सहयोग गर्नु पर्ने कुनै आवश्यकता नै छैन । नेपालकै उद्योग  जीर्णोद्धार गर्नु पर्ने थुप्रै कलकारखाना हुँदा हुँदै तिनीहरूलाई पाखा लगाएर विदेशी कम्पनीलाई सहयोग उपलब्ध गराउनु देश र जनताको हित विपरीतको कार्य गर्ने प्रधानमन्त्री देउवालाई नेपालीले खबरदारी गर्न जरुरी छ । 

पतञ्जलिको सुरुआत कसरी भयो ?

सन १९९५ मा पतञ्जलि कम्पनीको रूपमा दर्ता भयो . बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णले १३,००० रुपैयाँमा यस कम्पनी दर्ता गरेका थिए ।

उक्त समयमा यी दुबै जाना सँग जम्मा ३५०० रुपैयाँ थियो र उधारो लिएर कम्पनी दर्ता गराए । उक्त समय बाबा रामदेव हरिद्वारको सडकमा स्कुटर चलाएर हिँड्ने गर्थे ।

सन् २००२ मा गुरु शंकरदेव बिरामी परेपछि बाबा रामदेव दिव्य योग ट्रस्टका मालिक बने र बालकृष्णले ट्रस्टको वित्तको जिम्मा लिए र कर्मवीरलाई ट्रस्टको प्रशासक बनाए । यसपछि गुरुकुल जमानाका यी तिन साथीहरू मिलेर पतञ्जलि योग पीठको आर्थिक साम्राज्य अगाडी बढाए ।

हरिद्वार दिव्य योग ट्रस्टको ब्यानरमा बाबा रामदेवले देश/विदेशमा योग शिविर सञ्चालन गरे । हरियाणाको गाउँबाट सुरु भएको योग सिकाउने यो कार्य गुजरात र दिल्ली हुँदै मुम्बईसम्म पुग्यो ।

शुरुआतमा बाबा रामदेवको योग शिविर २०० जना मानिसहरू हुन्थे तर उनको लोकप्रियता सँँगै मानिसहरूको उपस्थित समेत बढ्दै गयो ।

बाबा रामदेव रहेका उक्त ट्रस्टको उद्देश्य आम मानिसहरूका बीच योग र आयुर्वेद प्रयोगलाई लोकप्रिय बनाउनु थियो । बाबा रामदेव कै अनुसार पहिलो चोटि पचास हजार रुपैयाँ दान पाउँदा उनले आयुर्वेदिक जड़ीबूटिको कारोबार सुरु गरेका थिए र आज हजारौं करोड़ रुपैयाँसम्म पुगेको छ ।

सन् १९९५ मा दिव्य योग ट्रस्ट, सन् २००६ मा पतञ्जलि योग पीठ ट्रस्ट बन्यो र तेस्रो भारत स्वाभिमान ट्रस्ट बाबा रामदेव एक पछि अर्को गर्दै ट्रस्ट चलाउँदै गए र यसै सँगै सन्न्यासीको आर्थिक साम्राज्य फैलिँदै गयो । 

अन्त्यमा,

कानुनले सञ्चार क्षेत्रमा विदेशी लगानी प्रतिबन्ध गरे पनि प्रधानमन्त्री देउवाले आस्था नेपाल र पतञ्जलि नामका दुई टेलिभिजन च्यानल सञ्चालनमा ल्याउन उद्घाटन समेत गरेका छन्, साथै यी दुई टेलिभिजन च्यानल विभागमा दर्ता समेत गरिएको छैन । नेपालमै दर्ता अनुमति नपाएका टेलिभिजन च्यानलहरू उद्घाटन गर्न प्रधानमन्त्री देउवाले देखाएको हतारो र यही मौकामा भारतीय कम्पनीलाई सहयोग गर्न देखाएको सदाशयता उदेक लाग्दो छ । 

भारतीय सञ्चार माध्यम अनुसार यी दुई टेलिभिजनमा रामदेवले दस हजार करोड भारतीय रुपैयाँ लगानी गरेको छन् । उनको मुख्य उद्देश्य भनेको यो टेलिभिजनबाट यहाँ आफ्नो बजार प्रवर्द्धन गर्नु नै हो । नेपालमा रहेको कच्चा जडीबुटीको अथाह सम्भावना र नेपाली बजार रामदेवको मुख्य रोजाई हो । यस्तो अवस्थामा नेपाल सरकारले आफ्नै पुराना कारखाना र तीनको बजारका लागि ठोस कदम चाल्नु बुद्धिमत्ता हुन्थ्यो । देउवालाई यस विषयमा कुनै चासो भएको देखिएन । प्रश्न स्वभाविक उठ्छ कि  रामदेवको भारतीय कम्पनीलाई जग्गा दिन्छु भन्ने कम्फर्टेबल सरकारले राष्ट्रिय अनि सरकारी कम्पनी सिंहदरबार वैद्यखानालाई जग्गा दिन र सक्षम बनाउनु पर्छ की पर्दैन ?  प्रधानमन्त्री ज्यू तपाइ नेतृत्वको सरकारले मुलुकभित्रको अथाह संभावनालाई टेवा दिन नेपालकै उद्योगलाई प्रवद्घन गर्न लाग्ने कि उल्टो विदेशीको चाकरी र तुमशरणम् गरी विदेशी कम्पनीलाई पोस्ने  काममा लाग्ने ?  जग्गा नभएर भोकभोकै बसेका नेपाली सुकुम्बासीलाई गोली हान्नी हत्या गर्ने नेपाल सरकारले भारतका अर्बपतीलाई  जग्गा दिनुजत्तिको हास्यस्पद र कम्फर्टेबल अरु के होला र ? 

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ६ : २२ बजे