काठमाडौँ । औषधीजन्य वनस्पति लेमनग्रास, पत्थर चट्टा एवं गुर्जोका दुई हजार ५०० बिरुवा वितरण गरिएको छ ।
पतञ्जलि योग पीठ नेपाल, मण्डिखाटारको नवनिर्मित भवनको उद्घाटनका अवसरमा शुक्रवार निःशुल्क रूपमा जडीबुटीका बिरुवा वितरण अभियानमा लाग्नुभएका आन्तरिक राजस्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटले जडीबुटीका बिरुवा वितरण गर्नुभएको हो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि लगायतलाई गुर्जोबाट बनेको चिया सेवन गराइएको थियो ।
अभियानकर्मी राजलवटले नेपालमा कोरोना महामारी सुरु भएसँगै विसं २०७६ चैतदेखि गुर्जोलगायत जडीबुटीका बिरुवा र गुर्जोलगायत जडीबुटीबाट बनेको चियाका पोका वितरण गर्दै आउनुभएको छ ।
मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न गुर्जोसहित जडीबुटीले सहयोग गर्ने आयुर्वेद चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ । हालसम्म उहाँले प्रायः सबैजसो जिल्लामा निःशुल्क बिरुवा र गुर्जोसहित जडीबुटीबाट बनेको चिया एवं धुलो वितरण गर्नुभएको छ ।
यसबीचमा करिब तीन लाख बिरुवा वितरण गरिएको जनाइएको छ । सेवनकर्ताबाट फाइदा भएको प्रतिक्रिया पाएपछि यो अभियानलाई निरन्तरता दिइएको अभियानकर्मी राजलवटले बताउनुभयो । रासस
प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार ७ : १४ बजे
प्रतिक्रिया