हर्नियाको शल्यक्रियाले दृष्टि गुम्यो

तनहुँ – शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाका दुई वर्षीय बालक अनिप तामाङको हर्नियाको शल्यक्रियापछि आँखाको दृष्टि गुमेको छ ।  गत भदौ २० गते पोखरास्थित ‘मेडिप्लस हस्पिटल’मा सो शल्यक्रिया गरिएको बताइएको छ । 

    दृष्टि गुमेपछि अहिले छोरा बोल्न र हिँड्नसमेत नसक्ने अवस्थामा पुगेको बालकका आमा सानीले जानकारी दिनुभयो ।  ज्याला मजदुरीका भरमा जीविकोपार्जन गर्दै आएको सो परिवारमा आर्थिक अवस्थाका कारण छोराको उपचार गराउन नसकेपछि घरमा राख्दै आएका थिए । 

    मकवानपुरको भीमफेदी घर भई हाल तनहुँको दुलेगौँडामा तामाङ परिवार ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । 

    सो परिवारको समस्याका बारेमा स्थानीय युवा समाजसेवी शङ्कर पन्तले थाहा पाएपछि उहाँकै नेतृत्वमा युवा समूहले रु ५५ हजार सङ्कलन गरी बिहीबार तामाङ परिवारलाई हस्तान्तरण गरेका छन् । पहिलो चरणमा बालकको शारीरिक अवस्था र रोग पहिचान गर्न उक्त रकमले सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । 

    रोग पहिचान भई उपचार सम्भव हुने अवस्थामा युवा समूहले अभियान चलाएरै रकम सङ्कलन गरी बालकको उपचारमा सहयोग गर्ने योजना रहेको उहाँले बताउनुभयो । छोराको उपचार गराउने चाहना हुँदाहुँदै पनि आर्थिक अभावका कारण अस्पतालमा लैजान नसकेर घरमै राख्नुपरेको आमा सानीले गुनासो गर्नुभयो । 

    सो समूहले आर्थिक सहयोग गरेपछि छोराको उपचार हुनेमा थप आशा पलाएको उहाँले बताउनुभयो । 
अनिपका उपचारका लागि मित्रलाल÷पदमकुमारी श्रेष्ठले रु १० हजार, बबुराम कार्कीले रु १० हजार, दिवस उप्रेतीले रु १०  हजार, देवेन्द्र ढुङ्गानाले रु पाँच हजार, युवराज भट्टराईले रु पाँच हजार एक सय, शिव गर्तौलाले दुई हजार, सुरेन्द्र पौडेलले रु दुई हजार र सुमन सापकोटाले रु दुई हजार सहयोग गरेका छन् । 

रासस

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १२ : ०३ बजे