काँग्रेस १४औँ महाधिवेशन : काठमाडौँका २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदै

काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँका २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदैछ । 

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँका १० निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ गरी २० प्रदेशसभा क्षेत्रमा आज अधिवेशन हुन लागेको हो ।

काँग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले आज हुने प्रदेशसभा निर्वाचनका लागि सबै प्रदेशसभामा निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिनुभयो । 

“सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गर्न पत्राचारसमेत गरिसकेका छौँ”, उहाँले भन्नुभयो ।

यसअघि काठमाडौँका १३८ वडा र ११ स्थानीय तहमा काँग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौँमा एक महानगरपालिका र १० नगरपालिका रहेका छन् । 

यस्तै काठमाडौँमा यही मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुँदैछ । काँग्रेसले मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेछ । रासस

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ८ : ४२ बजे