एक्लाएक्लै चुनाव लडे एमाले पहिलो बन्छ : योगेश भट्टराई

वाग्मती – नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एक्लाएक्लै चुनाव लड्ने हो भने आगामी निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति बन्ने दाबी गर्नुभएको छ । 

    आज मकवानपुरको मनहरीमा आयोजित एमाले गाउँकमिटीको शपथग्रहण कार्यक्रममा नेता भट्टराईले विभाजनले एमालेलाई खासै असर नगरेको उल्लेख गर्नुभयो । उहाँले एमालेबाट केही समूह चोइटिएर गएको बताउँदै त्यसलाई रोक्न प्रयास गर्दा पनि नसकेको बताउनुभयो । पार्टी नफुटाउन गरेको अनुनय नेता माधव नेपालले नसुनेको उहाँको आरोप थियो । 

    भट्टराईले मङ्सिर १० गतेदेखि चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभयो । “देशको सबै जिल्ला र सङ्घ सङ्गठनबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन्, त्यसैले हामीलाई नेतृत्व पनि सर्वसम्मत चयन गर्न दबाब छ, हाम्रो अध्यक्ष पनि सोही कुरामा चिन्तित हुनुहुन्छ”, भट्टराईले भन्नुभयो । 

    कार्यक्रममा भट्टराईले नवीन सुवेदीको अध्यक्षतामा गठित नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको शपथ गराउनुभएको थियो ।

रासस

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ९ : २३ बजे