पर्वत काँग्रेसमा जिल्ला सभापतिको उम्मेदवार शुल्क रु ५० हजार

पर्वत । नेपाली काँग्रेसको आगामी जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि रु ५० हजार शुल्क तोकिएको छ । 

नेपाली काँग्रेसको बुधवार सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई रु ५० हजार शुल्क निर्धारण गरेको हो । जिल्ला सभापतिका लागि रु एक लाख ५० हजार शुल्क तोक्नुपर्ने प्रस्ताव आए पनि विरोध भएपछि रु ५० हजार तोकिएको हो । 

केन्द्रीय निर्वाचन समितिले भने जिल्ला सभापतिको उम्मेदवारका लागि रु १० हजार दर्ता शुल्क निर्धारण गरेको छ । 

त्यस्तै, जिल्ला उपसभापति, सचिव र सहसचिवका लागि रु २५ हजार शुल्क तोकिएको छ । 

त्यसैगरी, महाधिवेशन प्रतिनिधिका लागि पनि रु २५ हजार शुल्क तोकिएको छ । जिल्ला कार्यसमिति सदस्यका लागि रु १० हजार शुल्क तोकिएको छ । यस्तै  क्षेत्रीय सभापतिका लागि रु १५ हजार  तोकिएको छ भने प्रदेश प्रतिनिधिका लागि रु १० हजार तोकिएको छ । 

काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसालले यो शुल्क ऐच्छिक भएको बताउनुभयो । “जिल्ला तहको अधिवेशन सम्पन्न गर्न खर्च व्यवस्थापन गर्न उम्मेदवारबाटै आर्थिक सहयोग जुटाउने निर्णय भएको हो”, उहाँले भन्नुभयो, “दलित, महिला, अल्पसङ्ख्यक र पिछडिएको क्षेत्रका उम्मेदवारलाई भने तिर्नुपर्छ भन्ने बाध्यात्मक अवस्था छैन ।”

केन्द्रीय निर्वाचन निर्देशिकाले भने जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई रु १० हजार, उपसभापति र सचिवका लागि रु सात हजार, सहसचिवका लागि रु.छ हजार र सदस्यका लागि रु तीन हजार शुल्क तोकेको छ । 

यस्तै, प्रदेशसभा क्षेत्रीय कार्यसमितिका लागि सभापतिलाई रु.पाँच हजार, उपसभापति र सचिवलाई रु.तीन हजार, सहसचिवलाई रु.दुई हजार ५०० र सदस्यलाई रु.दुई हजार शुल्क निर्धारण गरिएको छ । रासस

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  १२ : ३५ बजे