काग्रेंस केन्द्रीय कार्यालयमा देउवाको गृह जिल्लाकै सभापतिले सुरु गरे अनसन 

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका नेपाली काग्रेंसका सभापति कर्ण मल्लसहितको समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसन सुरु गरेको छ । 
डडेल्धुराको क्रियाशील सदस्यतामा धाँधली गरेको र शक्तिको दुरुपयोग गरेर जिल्ला अधिवेशन गरेको भन्दै उनीहरूले बुधबारबाट अनसन सुरु गरेका हुन् ।

डडेल्धुरामा काँग्रेसले भदौ २५ गते वडा र असोज ९ गते पालिका अधिवेशन गरेको थियो । 
जिल्ला सभापति मल्लसहित अनसनमा नेविसंघका पूर्वअध्यक्ष केशव सिंह, उपसभापति करुणाकर भट्ट, पूर्व जिल्ला सभापति पदम भट्ट, महाधिवेशन प्रतिनिधि हरि भट्ट, भागेश्वर गाउँपालिका पूर्वसभापति नरबहादुर ठकुराठी र परशुराम नगरपालिका १२ का पूर्व सभापति राजबहादुर भण्डारीलगायतका नेताहरु  अनसनमा सहभागी हुनुहुन्छ ।

यस्तै जिल्ला नेताहरू नेता भोजराज भट्ट, लोकराज भट्ट, गोकुल शाही, सन्तोष देउवा, भुवन भट्ट र नवदुर्गा ४ का पूर्व वडा सभापति रमेश ऐरलगायत पनि रिले अनसन बस्नुभएको छ । 
यसअघि मल्ल समूहले अधिवेशन प्रक्रिया बहिस्कार गरेर डडेल्धुरामा पनि रिले अनसन गरेको थियो ।

११ दिन अनसन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू अर्जुननरसिंह केसी, शेखर कोइराला र गुरुराज घिमिरेले मल्लहरुलाई फकाएर अनसन फिर्ता गराउनुभएको थियो । आफुहरको माग पुरा गर्ने प्रतिवद्घ लिए पनि हालसम्म आफ्ना माग पुरा नभएकाले केन्द्ीय कार्यालयमै आइ अनसन सुरु गरिएको मल्लको भनाई छ । 
पहिलो चरणका आन्दोलनबाट माग सम्बोधन नभएपछि दोस्रो चरणको आन्दोलन स्वरूप केन्द्रीय कार्यालयमा अनसन सुरु गरेको मल्लले बताउनुभयो ।
 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ४ : ४८ बजे