साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

रंगशाला निर्माणमा हात नझिकेको धुर्मुसको दाबी, अपनत्व ग्रहण गरिदिन सरकारलाई आग्रह

काठमाडौं । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ऋणमा चुर्लुम्म डुबेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट आर्थिक सहयोग संकलन गरेर निर्माण गरिरहेको रंगशालाको काम चार महिनादेखि ठप्प छ । 

तीन अर्ब लागतको रंगशाला निर्माण गर्दा १७ करोडभन्दा बढी ऋण लागिसकेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताएका छन् । रंगशाला निर्माणमा ५४ करोडभन्दा बढी खर्च भइसकेको छ । रंगशालाको अपनत्व र अभिभावकत्व ग्रहण गरिदिन उनले सरकारलाई आग्रहसमेत गरेका छन् । 

धुर्मुस सुन्तली फाउण्डेसनको आधिकारीक फेसबुक पेजबाट १४ मिनेट नौ सेकेण्डको भिडियो सार्वजनिक गर्दै धुर्मुसले देशको जितकै लागि भए पनि सरकारले अपनत्व ग्रहण गरिदिनुपर्ने बताउनुभयो । यस्तै अवस्था रहेर भोलिका दिनमा आफूहरू विचलित हुने दिन आएमा सिंगो देशको हार हुने उहाँले बताउनुभयो।  

३० हजार क्षमताको हुने रंगशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्याराफिट बनिसकेको छ । मैदान पनि तयार भइसकेको छ । पिच निर्माण गर्न बाँकी छ । कोरोना महामारीका बेला पनि क्रिकेट रंगशालाको काम धमाधम भएको थियो । 

‘निर्माण सामग्री दिने विभिन्न कम्पनी र व्यक्तित्वहरू धेरै कुरिसक्नुभयो । कति कम्पनी त बन्द हुने अवस्थामा पुगेका छन् । उहाँहरूको तारन्तर फोन आइरहन्छ । तारन्तार मेसेज गरिरहनुहुन्छ, कहिले कहिले ? मसँग पनि जवाफ छैन कहिले ?’, उहाँले भावुक हुँदै भन्नुभयो। 

सरकारकै नेतृत्वमा निर्माण गर्ने भए पनि आफुहरू सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको उहाँले बताउनुभयो । तीन तहकै सरकारलाई परियोजनाको अभिभावकत्व ग्रहण गरिदिन धुमुसले आग्रह गर्नुभयो ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ४ : ०३ बजे