एमाले लाई देशको सबैभन्दा ठूलो पार्टी बनाएर इतिहास जोगाएको भन्दै अध्यक्ष ओलीलाई अभिनन्दन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान बाट अभिनन्दित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई देशको सबैभन्दा ठूलो पार्टी बनाएर इतिहास जोगाएकोमा उहाँलाई अभिनन्दन गरिएको हो ।

‘तपाईंको प्रधानमन्त्रीकालमा मुलुकले राष्ट्रियताको सम्बर्धन र नेपाली जनताको जीवनस्तर विकासको लागि गर्नुभएको काम प्रशंसनीय र अतुलनीय छ’, उहाँलाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ । ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई देशको सबैभन्दा ठूलो पार्टी बनाउन सफल हुनुभएकोमा यहाँलाई हार्दिक बधाई व्यक्त गर्दछौँ’, अभिनन्दन पत्रमा उल्लेख छ ।

नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नेपालको २००७ अघिको राजनीतिक इतिहास उल्लेख गरेर एमालेले इतिहासलाई दस्तावेजीकरण गरेको प्रतिष्ठानले जनाएको छ । ‘प्रतिवेदनको खण्ड ४ को पृष्ठ २५ र २६ मा वि।सं १९७१ र १९९७ सालको घटनाको समीक्षा गर्दै नेपाल प्रजा परिषदको योगदान र एकीकरणको इतिहास दस्तावेजमा लिपिवद्ध भएकोमा हामी हर्षित भएका छौँ’, प्रतिष्ठानले भनेको छ ।

नेपालको पहिलो राजनीतिक पार्टी नेपाल प्रजा परिषदको स्थापना र त्यसले नागरिक आन्दोलनका लागि गरेको पर्चा अन्दोलन र १९९७ सालको चरम दमनलाई ओझेलमा परेको हाम्रो ठम्याइ रहँदै आएको छ’, ओलीलाई प्रदान गरिएको अभिनन्दन पत्रमा उल्लेख छ । अब नेपाल प्रजापरिषदको विरासत र इतिहास नेकपा (एमाले) मा समाहित भएको प्रतिष्ठानले जनाएको छ ।

‘हामीलाई आशा छ हामीले एमालेसँग एकीकरण गरेकोमा सदैव गौरव गर्न पाउने छौँ। प्रतिष्ठानका अध्यक्ष अरविन्द रिमाल र महासचिव गोविन्दप्रसाद दुलालले हस्ताक्षर गर्नुभएको अभिनन्दनपत्रमा एमालेले राजनीतिक दस्तावेजद्वारा इतिहासको सम्मान गर्ने परिपाटी शुरु गरेको भन्दै कृतज्ञता व्यक्त गरिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  २ : ५७ बजे