खेर फाल्ने दुध घर चलाउने माध्यम बन्याे

बागलुङ – दुई वर्षअघिसम्म दुधलाई मोही बनाएर मलखादमा फाल्ने बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका भिमनाथ शर्माले अहिले दुध बिक्री गर्न थालेका छन् । मोही बनाएर फाल्नु पर्ने दुध हिजोआज उनकाे घर खर्च चलाउने आम्दानीको स्रोत बनेको छ ।

उनीसँग दुई वटा दुहुना भैंसी छन् । दुध बिक्री हुन थालेपछि शर्मा जस्तै धुल्लुबास्काेटका भैँसीपालक किसानहरू उत्साहित भएका छन् । अहिले उनीहरूकाे मुख्य आम्दानीको स्रोत नै दुध, पाडापाडी बिक्री, मकै बाली बनेकाे छ । 

धुल्लुबास्कोटका धेरै किसानले दही मथेपछि मोही मलखादमै मिलाउँथे । अहिले धेरैको दैनिकी फेरिएको छ । गत १ असारसम्म यहाँका किसानले उत्पादन गरेको दूध कुश्माबाजरदेखि पतिचौरसम्म लगे । तर, १ असारकाे बाढीपहिरोका कारण पातिचाैर जाने सडक बन्द भयाे । त्यसयता उनीहरूले गाउँमै दुध बिक्रीकाे व्यवस्था मिलाएका छन् । ‘यहाँबाट एक क्यान दुध बाेकेर पातिचौरसम्म पनि पुर्याइयाे, असारयता बन्द गर्याै,’ लिउँवा समाज सुधार कृषि तथा पशुपालन समूहका अध्यक्ष समेत रहेका कृषक शर्माले भने, ‘अब हाम्रो योजना पोखरा दुध पठाउने हो ।’ 

एक क्यान दुधमा ४० लिटर मात्रै जान्छ । ढुवानी धेरै लाग्ने भएकाले दुधको मात्रा बढाएर बिक्रीका लागि समूहले पहल थालेको हाे । पोखरामा दुध पाउडर बनाउने एक कम्पनीसँग समूहले कुराकानी गरिरहेको शर्माले बताए । उनले सिधा पोखरा पठाउँदा दुधको मूल्य थप पाइने विश्वास व्यक्त गरे ।  

जैमिनी नगरपालिकाको कुश्मीशेरामा रहेको दुग्ध उत्पादक सहकारीसँग समन्वय गरेर यहाँको दुध बजार जाने गरेको थियो । किसानबीचको समन्वयले दुर्गमको दुध बजारीकरणमा सहज भएको शर्माले बताए । कृषि उत्पादन कम हुने बरेङमा पशुजन्य उत्पादन निर्यातका लागि योग्य उत्पादन हुन् । 

स्थानीय बजारमा समेत दुधको बिक्री वितरण हुने वातावरण पछिल्लो दुई वर्षयता मात्रै भएको हो । सडकलगायत पूर्वाधार विकासका कारण निर्यात हुन नसकेको समयमा समेत यहाँका किसानको दुध स्थानीय बजारमा बिक्री भइरहेको छ ।

किसानहरूलाई गाउँपालिकाले सहयोग गरेको छ । दुधको बजारीकरणमा समेत गाउँपालिकाका किसानको साथमा रहने अध्यक्ष शर्माले बताए । किसानलाई तालिम, औषधि, गोठसुधार र नश्ल सुधारलगायतका कार्यक्रममा गाउँपालिकाले सघाउने गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ३ : १९ बजे