‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ललिता निवासमा निर्माण भएका घर टहरा हटाउन मन्त्री तुम्बाहाङफेको निर्देशन

काठमाडौं– बालुवाटारस्थित बहुचर्चित ललिता निवास क्यापभित्र घर टहरा निर्माण नरोकिएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले असन्तुष्टि जनाउनुभएको छ ।

मन्त्री तुम्बाहाङफेले मन्त्रीस्तरको निर्णयबाट घर टहरा निर्माण रोक्न निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेख्दै कानूनविपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न भनेको छ ।

शाखा अधिकृत महेशराज भट्टराईले पत्र लेख्दै नक्सापास र संरचना निर्माण रोक्न पत्राचार गर्नुभएको छ । मन्त्री तुम्बाहाङफेले ललिता निवासको जग्गाबारे अदालतमा मुद्दा चलिरहेकाले त्यसलाई रोक्न निर्देशन दिएको जानकारी दिनुभयो ।

बहुचर्चित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ८ : ४१ बजे