सुनको मूल्य बढ्यो , प्रतितोला रु ९४ हजार ६०० मा कारोबार

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला रु २०० ले उकालो लागेर रु ९४ हजार ६०० कायम भएको छ । 

पहेँलो धातु गत शुक्रवार प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार १०० छ । अघिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० तोकिएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य शुक्रवारका तुलनामा रु १० ले उकालो लागेर एक हजार २९५ कायम भएको छ । 

चाँदी शुक्रवार प्रतितोला रु एक हजार २८५ मा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८६४ डलर आसपासमा कारोबार भइरहेको छ ।

सुनको कोटा बढाउन व्यवसायीको माग  
महासङ्घले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैङ्कसँग आग्रह गरेको छ । 

हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै आपूर्ति व्यवस्था बढाउन राष्ट्र बैङ्कसँग आग्रह गरेको महासङ्घका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । 

हाल वाणिज्य बैङ्कमार्फत सुनको आपूर्ति हुँदै आएकोमा त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘गोल्ड बैङ्क’मार्फत आपूर्ति व्यवस्था मिलाउनुपर्ने तथा सुनको वितरण काठमाडौँ केन्द्रित रहेकोले त्यसलाई विकेन्द्रित गर्दै तोकिएका नाकाबाट कच्चा सुन पाउने व्यवस्था मिलाउनुपर्नेमा अध्यक्ष शाक्यले  जोड दिनुभएको छ । 

हाल राष्ट्र बैङ्कले सुनको दैनिक कोटा २० किलो रहने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १२ : ०५ बजे