काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाका २६ सांसदलाई कोरोना संक्रमण भएको छ ।
बैशाख २७ गते बस्ने प्रतिनिधिसभा बैठकलाई मध्येनजर गर्दै यहि २२ देखि २४ गतेसम्म स्वाब संकलन गरी गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका परीक्षणमा संघीय संसदका १८ जना सांसदसहित १ सय ६० जनालाई कोरोना संक्रमण देखिएको छ ।
पहिल्यै पीसीआर परीक्षण गराएका थप ८ जना सांसदलाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ । सांसदहरू झलनाथ खनाल, बिना मगर, रघुवीर महासेठ, सुरेशकुमार राई, सुरेन्द्र कार्की (राम कार्की) मन्त्री जुलिकुमारी महतलगायत ८ जनालाई पनि कोरोना संक्रमण भएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाका एक जना सांसदमा पनि कोरोना संक्रमण देखिएको छ ।
संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा पोजेटिभ देखिएको हो ।
कोरोना संक्रमण देखिएका अन्य १४१ जना संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आईसीसी)का कर्मचारी छन् ।
प्रतिनिधिसभाका अझै ५४ सांसदको पीसीआर रिपोर्ट संसद् सचिवालयले प्राप्त गरिसकेको छैन । उनीहरूको पीसीआर परीक्षण भएपछि वा रिपोर्ट प्राप्त भएपछि कोरोना संक्रमित सांसदको यकिन संख्या थाहा हुने संसद् सचिवालयको भनाइ छ ।
प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार ३ : ५६ बजे
प्रतिक्रिया