काठमाडौं । दोलखाको सुप्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको शिलामा आज (शनिबार) पसिना आएको छ ।
शनिबार दिउँसो सवा १२ बजेदेखि १ बजेर ४० मिनेटसम्म झण्डै डेढ घण्टा मन्दिरको शिलामा निरन्तर पसिना आएको भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका उपाध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । दोलखाको भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ।।
यसअघि पछिल्लो पटक २०७७ मंसिर ९ गते भीमेश्वरको शिलामा पसिना आएको थियो । त्यसअघि २०७६ फागुन ८ गते पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी सुरु भएको विश्वास गरिन्छ।
दायाँ पट्टीबाट पसिना आउँदा राजकाजमा बसेका र बायाँ पट्टीबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ।
अहिले शिलाको दायाँ–बायाँ दुवै भागबाट पसिना आएको श्रेष्ठले बताउनुभयो ।
यसरी शिलामा पसिना आउदा क्षमा पुजा गर्ने चलन छ । यस अघि २००७,२०४६ सालको राजनितिक परिर्वतन,२०६२९२०६३ को जन आन्दोलन, दरबार हत्याकाण्ड, १९९० को भुकम्पमा, २०७२ को महा भुकम्प लगायत अनिष्ट हुनु अघि पनि यो शिलाबाट पसिना आएको थियो ।
उपाध्यक्ष श्रेष्ठले आइतबार राष्ट्रपति कार्यालयमा महाप्रसाद पठाइने बताउनुभयो । त्यसपछि मन्दिरमा क्षमा पूजा गरिने उहाँले बताउनुभयो । राजाको पालामा पसिना आउँदा भने राजदरबारबाट क्षमा पूजाका लागि पञ्चबली पठाउने चलन थियो।
प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार २ : ५६ बजे
प्रतिक्रिया