बाढीको स्थितिमा सुधार

अहिलेकाे संविधान हटाउने कल्पना समेत हुँदैन : नेम्वाङ

इलाम – संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेकाे संविधान हटाउने कल्पना समेत गर्न नसकिने बताउनु भएको छ । गृह जिल्ला इलाममा विहीबार आयोजित कार्यक्रममा नेम्वाङले संविधान फेर्ने चर्चाको कुनै तुक नरहेको टिप्पणी गर्नुभएको हो ।

‘यो संविधान लरतरो रुपमा हटाउने कल्पना समेत हुँदैन,’ नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले भन्नुभयो, ‘संविधान फेर्ने चासचुस चर्चा हुँन थालेको छ, त्यस्तो चर्चाको कुनै तुक छैन ।’ नेम्वाङले नेपालको अहिलेको संविधानले व्यवस्था गरेको संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पनि तलमाथि नहुने दावी गर्नुभयो । ‘कसैलाई केही भइहाल्छ भन्ने चिन्ता लागेको छ भने चिन्तामुक्त हुन म आग्रह गर्छु,’ नेम्वाङले भन्नुभयो ।

संविधानसभामा उपस्थित ३१ दलबाट संविधान बनाउन अनेक अप्ठयाराे झेलेको भए पनि संविधान संशोधनमार्फत यसलाई सबै दलले स्वीकार गरेको नेम्वाङको भनाइ छ । ‘हामीले निकै चुनौतिपूर्ण अवस्थामा संविधान बनायौ‌, संविधानमा चुच्चे नक्सा राख्न दलहरू एक ढिक्का भए,’ नेम्वाङले थप्नुभयो, ‘अब नेपालको सबै दलले संविधानलाई स्वीकारेका छन् ।’ संविधानमा नै भएको व्यवस्थालाई टेकेर आवश्यक परिवर्तन गर्न सकिने उहाँको भनाइ छ । ‘तपाइँ जनताको मन जितेर आउनुहोस् चाहे अनुसारको परिवर्तन गर्न सक्नुहुन्छ,’ नेम्वाङले भन्नुभयो,‘अब परिवर्तनको लागि कुनै लडाइँ, आन्दोलन गरिराख्नु पर्दैन ।’

नेता नेम्वाङले जनतालाई समेत मन नपर्ने पार्टी र व्यक्ति परिवर्तन गर्न सुझाउनु भयो । ‘व्यक्ति मन पर्दैन, व्यक्ति फेर्नुहोस, पार्टी मन पर्दैन पार्टी फेर्नुहोस्’, उहाँले थप्नुभयो, ‘दलहरू बहीखाता बोकेर चाडै तपाइँकोमा आउँदैछन् ।’ नेम्वाङले जनताले दिने फैसलाले मुलुकलाई दिशा दिने बताउनु भयो । उहाँले भन्नुभयो , ‘अहिले केही अप्ठयाराे भएको जस्तो लागेको होला, तपाइँको फैसलाले देशलाई निकास दिन्छ ।’

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ३ : ०७ बजे