सडक यातायात क्रमशः सहजतातर्फ

पशुपतिनाथ–काशी मोटरसाइकल र्‍याली सुरु

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरबाट भारतको काशीसम्म मोटरसाइकल र्‍याली सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बिहीबार संयुक्तरुपमा मोटरसाइकल र्‍यालीको उदघाटन गरेका हुर्नुभएको हो । र्‍यालीलाई ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’ नाम दिइएको छ । र्‍यालीमा करिब ५० भारतीय तथा नेपाली मोटरसाइकल प्रेमीहरुको सहभागीता छ ।

र्‍यालीका सहभागीहरु कार्तिक २७ गते वनारसमा अवस्थित काशी विश्वनाथ मन्दिर पुग्नेछन् । महात्मा गान्धीले भारत स्वतन्त्र संग्रामको बेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी, भगवान बुद्धले पहिलो प्रवचन दिएको स्थल सारनाथ, भारत र नेपालका धर्मावलम्बीहरुको एक प्रख्यात धार्मिक स्थल गोरखनाथ मठ जस्ता विभिन्न ऐतिहासिक स्थल हुँदै र्‍याली अघि बढ्नेछ ।

 कार्यक्रममा मन्त्री आलेले भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्पदा र सभ्यताको सम्बन्धबारे चर्चा गर्दै मोटरसाइकल र्‍यालीका सहभागीहरुलाई यात्राको सफलताको लागि शुभकामना दिएका थिए ।

भारत र नेपालका जनताबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले र्‍याली आयोजना गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  १ : १७ बजे