सडक यातायात क्रमशः सहजतातर्फ

छठको तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइयो

जनकपुरधाम – लोक आस्थाको पर्वको रूपमा प्रसिद्ध छठ पर्वको तेस्रो दिन बुधबार अस्ताउँदै गएको सूर्यदेवलाई अर्घ्य दिइएको छ । 

सोमबारदेखि विधिवत् रूपमा सुरु छठ पर्वको तेस्रो दिन ब्रतालुभक्तजनले नदी, तलाउ, पोखरी तथा जलाशयमा घण्टौं उभिएर सूर्यदेवलाई अर्घ्य दिएका छन् । छठ पर्वको अवसरमा जनकपुरधामका गंगासागर, धनुष सागर, दशरथ तलाउ, अगजासरलगायतका प्रमुख पोखरीमा निर्माण गरिएको घाटमा श्रद्धालुहरू जम्मा भई अर्घ्य दिएका हुन् । 

घाट यतिवेला विद्युतीय बलले झिलिमिली भएको छ । 

छठ पर्व मनाउने महिला वा पुरुष व्रतालुले औँसी तिथिसँगै माछामासु वा मांसाहारी भोजन त्याग गर्छन् ।  तिहारको चौथौँ दिन नित्यकर्मपछि व्रतमा बस्नेहरू लसुन, प्याज, उसिनेको चामलको भात बाहेक शुद्ध शाकाहारी खाना, खीर दूध केरा खान्छन् । पञ्चमी तिथिमा दिनभरि निराहारपछि रातिमा गर्ने पूजा र फलाहारको यस दिनलाई खर्ना भनिन्छ । षष्ठीका दिन बर्त बसिन्छ र बर्त बस्नेहरूले अन्न र जल ग्रहण गर्दैनन् ।

बिहानैदेखि स्वच्छपूर्वक छैठमा लागि भुस्वा, टकुवा, लड्डुलगायत परिकार तयार पार्छन् । ती सबै समानलाई बासको डालोमा राखी सूर्यास्त हुनुभन्दा अभावै कुनै जलाशय, नदी वा पोखरीमा छठ पूजा गर्छन् । करिब ४० घण्टासम्म भोकै बस्ने ब्रातालुले घण्टौसम्म पानीमा उभिएर अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घ्य दिन्छ । 

केही दशकअघि नेपालको तराई र भारतका विहार, उत्तर प्रदेशलगायतका राज्यका मनाइने यो पर्व पछिल्लो समय काठमाडौंसहित नेपालका पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।
 
छठमा प्राकृतिकका साथै एकता र अस्थाको पर्व भएकोले यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको साहित्यकार उपेन्द्र भगत नागवंशी बताउँछन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ६ : २५ बजे