साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

बनेपामा ‘मिनी फिल्मी सिटी’ निर्माणको तयारी पूरा

काभ्रेपलाञ्चोक।  बनेपा नगरपालिकाको भैँसेपाटीमा निर्माण हुने अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो)को निर्माणार्थ आवश्यक प्रक्रिया पूरा भएको छ । 

यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए)लगायत आवश्यक तयारी पूरा भई निर्माणको प्रक्रिया अघि बढाएको चलचित्र विकास बोर्डले जनाएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको १० र १३ नं वडासिमास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ् स्टुडियो’ निर्माणका लागि आवश्यक प्रशासनिक तयारी पूरा भई भौतिक निर्माणको प्रक्रियागत काम सुरु भएको बोर्डका अध्यक्ष दयाराम दाहालले बताउनुभयो ।

 “भैँसेपाटीमा निर्माण हुने फिल्म सिटीको प्रशासनिक तयारी पूरा भएको छ, सबैभन्दा पहिला सुटिङ्का लागि एउटा भवन निर्माण हुनेछ, त्यसपछि क्रमशः सूटिङका लागि आवश्यकीय भवनलगायतका संरचना बन्दै जानेछन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार ‘आउटडोर’ र यहाँबाट देखिने वातावरणीय सुन्दरतालाई ध्यानमा राखेर छायाङ्कन स्टुडियो निर्माण हुनेछ । 

इन्डोरमा अस्पताल, प्रहरीचौकी, कारागार, ठूला भवनका भित्री भागदेखिने खालका तथो प्रोटेबल सेट निर्माण गरिने अध्यक्ष दाहालको भनाइ छ । आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्नका लागि चलचित्र म्यूजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशन कक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण हुने योजना बनाइएको छ । 

स्टुडियो निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनलगायत आवश्यक प्रशासनिक कार्यका लागि रु दुई करोड बजेट विनियोजन भएको सांसद गोकुलप्रसाद बाँस्कोटाले बताउनुभयो । “बनेपास्थित भैँसेपाटीमा सुटिङ स्टुडियो बनाउन उपयुक्त देखिएपछि बजेट विनियोजन गरिएको छ, यो पनि सौन्दर्य–विकासको एउटा पाटो हो”, उहाँले भन्नुभयो । चलचित्र छायाङ्कन स्टुडियोका लागि भैँसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको हो । बहुद्देश्यीय परियोजना भएकाले पहिलो चरणमा इन्डोर छायाङ्कन स्टुडियोको डिपिआर बनाइ काम सुरु गरिने जनाइएको छ ।

 “नेपालमा हाल अत्याधुनिक छायाङ्कन इन्डोर स्टुडियो, चलचित्रको इतिहास अध्ययन, म्युजियम नभएकाले अत्याधुनिक छायाङ्कन स्टुडियोको अवधारणा ल्याएका हौँ” अध्यक्ष दाहालले भन्नुभयो 

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ४ : ४१ बजे