काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पार्टी संसदीय दलको बैठक आज बस्ने भएको छ ।
संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से कक्षमा आज पराह्न २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को आगामी बैठकमा लिइने विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो । सो विषयमा पनि संसदीय दलको बैठकमा छलफल हुने बताइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।
प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार ८ : ४८ बजे
प्रतिक्रिया