साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आइसिसी टी–२० विश्वकप क्रिकेट :  न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश , भारत बाहिरियो

काठमाडौँ । न्युजिल्यान्ड आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सुपर–१२ को समूह–२ मा अफगानिस्तानलाई आठ विकेटले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

न्युजिल्यान्डको यस जितसँगै उपाधि दाबेदार मानिएको भारत भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । लगातार चार खेल जित्दै समूह–२ बाट  पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ । 

न्युजिल्यान्डले १२५ रनको लक्ष्य १८ ओभर एक बलमा दुई विकेट गुमाएर पुरा गर्‍यो । न्युजिल्यान्डको जितमा कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन जोडे । डेभोन कोनवेले ३६ रनको योगदान गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२४ रनको योगफल तयार पार्‍यो ।  

अफगानिस्तानका नजिबुल्लाह जदरनले सर्वाधिक ७३ रन जोडे । न्युजिल्यान्डका  ट्रेन्ट बोल्टले सर्वाधिक तीन विकेट हात पारे ।

यता, समूह-१ बाट भने इंग्ल्यान्ड र अष्ट्रेलिया ​पनि सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ७ : २५ बजे