सेना र प्रहरी प्रयोग गर्न नसकेपछि एमालेको सरकारमाथि अदालत प्रयोग भयो : अध्यक्ष ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले मुलुकको लोकतन्त्रलाई कमजोेर बनाउन खोजेको बताउनुभएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धन मुलुकका लागि नभएर सत्ता स्वार्थका लागि एकता गरेको भन्दै गठबन्धनले मुलुकको लोकतन्त्रलाई कमजोेर बनाउन खोजेको बताउनुभयो । अध्यक्ष ओलीले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि आफ्नो सरकारमाथि अदालत प्रयोग भएको टिप्पणी गर्नुभयो ।

अब पनि अनेक प्रतिगामी परमादेश आउन सक्ने भन्दै उहाँले एमालेले मुलुक र लोकतन्त्रलाई तलमाथि हुन नदिने बताउनुभयो । एमालेका लागि सरकार नभएर मुलुक पहिलो प्राथमिकता भएको उहाँले बताउनुभयो । अध्यक्ष ओली भन्नुभयो, ‘एमाले देशका लागि बनेको पार्टी हो । यो पार्टी मान्छे अल्मल्याएर दुनो सोझ्याउने पार्टी होइन । जनताका लागि जाग्ने पार्टी हो ।’ उहाँले भन्नुभयो, ‘कर्णालीमा कर्णालीले जनताले जित्नुपर्छ । भ्रमले जित्ने होइन । अरुका दलाल र ठगहरुले होइन ।’

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : ३३ बजे