कुनै एक व्यक्तिले चाहँदैमा एमाले सकिदैन, कुरु क्षेत्रको धाक नलगाए हुन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैले चाहँदैमा एमालेलाई सिध्याउन नसक्ने बताउनुभएको छ । आज भक्तपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले कुनै एक व्यक्तिले चाहँदैमा एमाले सिध्याउन नसक्ने बताउनुभएको हो ।

उहाँले भ्याकुम लगाएर एमाले सक्ने सपना नदेख्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो,– ‘‘एकजना बाबुले भ्याकुम लिएर भक्तपुरतिर आउने र भ्याकुम क्लिनरबाट एमाले सिध्याउने कुरा गरेछन् । भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे, बिचरा / एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगै काग्रेस कहाँ गयो ? भ्याकुम क्लिनर रे, एमाले सिध्याउने सपना तिनीहरूका, म त्यसमा अरू केही भन्न चाहन्नँ ।’

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाललाई कुरु क्षेत्र बनाउने सपना नदेख्न पनि आग्रह गर्नुभयो । कुरु क्षेत्र बनाउने भनेर तर्साउन खोज्नेहरूलाई पराजित गरेरै यहाँसम्म आइपुगेको उहाँको भनाइ थियो।

‘‘एकजनाले अस्ति कुरु क्षेत्र बन्छ अब भने, कुरु क्षेत्र बनाएको पनि देखियो, कुरु क्षेत्र सबै ठेगान पनि लाइयो, अब कसैले कुरु क्षेत्रका धाक नलगाए हुन्छ, नेपाल नै अब धर्म क्षेत्र हुन्छ, विकास क्षेत्र हुन्छ, यो शान्ति क्षेत्र हुन्छ,’’ अध्यक्षले भन्नुभयो  ‘‘यो जनताको समृद्धिको क्षेत्र हुन्छ, समृद्ध नेपाल, सुखी नेपाली भएको क्षेत्र हुन्छ नेपाल । केको कुरु क्षेत्र ? कुरु क्षेत्र बनाउने भनेर कतिले धाक लगाएका छन्, के भनेको, कसलाई तर्साएको अहिले ? हामीले कुरु क्षेत्र बनाएको हेर्यौँ, सत्र हजार मान्छे मारेको हेर्यौँ, ढुंगामा राखेर बन्चरोको पासोले मान्छेको हड्डी फोरेको पनि हेर्यौँ, काठ घोच्ने बर्माले मान्छेको शरीरमा घोपेको पनि हेर्यौँ, ती सबै अत्याचार पराजित गरेर हामी आएका छौँ । त्यसैले हामीलाई कुरु क्षेत्रको धाक नलगाए पनि हुन्छ, हामी त्यस्ता कुराको वास्ता पनि गर्दैनौँ, हामीलाई देश बनाउने कुरासँग सरोकार छ । उहाँको मनस्थिति एकदमै डगमगाएछ, गणतन्त्रै फाल्छु भन्यो ओलीले भन्नुभएछ । पुष्पकमल दाहालले गणतन्त्र भन्नुभन्दा २५ वर्षअघि हामीले गणतन्त्रको अभियान थालेका थियौँ, अध्यक्ष ओलीले भन्नुभयो ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ७ : १९ बजे