एमाले महाधिवेशन : विद्युतीय उपकरण प्रयोग गरिने

चितवन । नेकपा (एमाले) को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । 

मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ । 

महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी गरिएको जानकारी दिनुभयो । 

यसबाट तीन घण्टाभित्रमा नतिजा आउने छ । उहाँले भन्नुभयो, “मतदानपछि प्रिन्ट गर्‍यो भने तीन घण्टा लाग्छ भनिएको छ । क्युआर कोडबाट भयो भने त्यो भन्दा अघि नै नतिजा आउँछ । ”

विद्युतीय उपकरण जडान र व्यवस्थापनका विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । सो पार्टीको केन्द्रीय समिति २ सय २५ सदस्यीय छ ।

यसमध्ये १५ पदाधिकारी छन् । उहाँका अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक , उपाध्यक्ष चार , महासचिव एक , उपमहासचिव एक  र सात  सचिव रहने व्यवस्था छ ।

महाधिवेशनमा अहिले सम्मका अवस्थामा दुई हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ । महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहाको बाघमारा चौरमा गर्ने तयारी गरिएको छ । महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने पार्टीले जनाइएको छ । 

सौराहामा करिब तीन हजार ५०० जनालाई बस्ने व्यवस्था मिलाइने उहाँको भनाइ छ । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा यहाँ सारिएको हो ।

महाधिवेशन आगामी मङ्सिर १० गते देखि १२ गते सम्म हुँदै छ । रासस

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १२ : ३६ बजे