साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पूर्व प्रधानमन्त्री ओलीद्वारा शार्दूल र समृद्ध नेपाल, सुखी नेपालीको विमोचन

​​​​​​​काठमाडौँ । नेकपा एमाले अध्यक्ष, पूर्व प्रधानमन्त्री एवम् मदन भण्डारी कला साहित्य प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले प्रतिष्ठानद्वारा प्रकाशित वैचारिक सिर्जनाको संवाहक अर्धवार्षिक पत्रिका ‘शार्दूल’को अङ्क–४ र राष्ट्रिय गीति एल्बम ‘सुखी नेपाली, समृद्ध नेपाल’को विमोचन गर्नुभएको छ । 

ललितपुर, च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित समारोहमा ओलीले उक्त पत्रिका र एल्बमको विमोचन गर्नुभएको हो । 

​​​​​​​

उक्त अवसरमा बोल्नुहुँदै पूर्व प्रधानमन्त्री ओलीले साहित्य, कला र गीतसङ्गीतले मान्छेलाई तत्कालै प्रभाव हुँदा सार्थक साहित्य, कला तथा गीतसङ्गीत सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले नेपाल अनेकौँ दर्शन, ज्ञान विज्ञान तथा विचारहरूको उद्गमस्थल भएको उल्लेख गर्दै देशको समृद्धिका लागि साहित्यकार तथा कलाकारहरूले आफ्ना  सिर्जनाका माध्यमबाट योगदान दिनुपर्ने बताउनुभयो । 

प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेता तथा लेखक केशव बडालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव श्याम तमोटले विमोचित एल्बमका बारेमा बोल्नुभएको थियो । कवि वासुदेव अधिकारीले प्रतिष्ठानले आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो भने डा. विनोद मञ्जनले विमोचित पत्रिका ‘शार्दूल’को अङ्क–४ का बारेमा समीक्षा गर्नुभएको थियो ।

विमोचित ‘शार्दूल’ को सम्पादकमा शशी लुमुम्बू, फूलमान बल र जयन्ता पोखरेल रहनुभएको छ । ‘शार्दूल’को यस अङ्क समृद्धि–विशेषका रूपमा आएको छ । 

‘समृद्ध नेपाल, सुखी नेपाल’ प्रतिष्ठानद्वारा दुई वर्ष अगाडि आयोजित राष्ट्रिय गीत प्रतियोगितामा छनोट गरिएका १० वटा गीतहरूको एल्बम हो । सबै गीतको सङ्गीत तथा संयोजन सङ्गीतकार प्राज्ञ अशोक राईले गर्नुभएको हो । 

गणेश रसिक, अंशुमाला कार्की, सौरभ सुनार लगायतका गीतकारको गीतमा कुन्ती मोक्तान, सञ्जय तुम्रोक, दुर्गा परियार लगायतका गायक/गायिकाको सुमधुर आवाज रहेको छ ।

कार्यक्रममा अध्यक्ष ओलीले गीतकारहरूलाई पाँच–पाँच हजार नगदसहित कदर पत्र प्रदान गर्नुभएको थियो । 

यसैगरी, गायक/गायिकाहरूलाई स–धन्यवाद सम्झनोपहार प्रदान गरिएको थियो । 

कार्यक्रममा प्रतिष्ठानका सचिव यशोदा अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो  सञ्चालन प्रतिष्ठानका महासचिव हरिप्रसाद भण्डारीले गर्नुभएको थियो ।    

 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : ४२ बजे