आगामी निर्वाचनबाट एमाले लोकप्रिय जनमतसहित पुनः सत्तामा फर्कन्छ : योगेश भट्टराई

काठमाडौं, कात्तिक १६ । एमाले सचिव योगेश भट्टराईले आगामी निर्वाचनबाट नेकपा एमाले लोकप्रिय जनमतसहित पुनः सत्तामा फर्कने उदघोष गर्नुभएको छ । दसौं महाधिवेशनको प्रचार योजना बनाउने क्रममा आज सुझाव संकलनपछि प्रचार बिभाग प्रमुखसमेत रहनुभएका सचिव भट्टराईले यस्तो उदघोष गर्नुभएको हो ।

‘दशौं महाधिवेशनको उदघाटनमा कम्तीमा ५ लाख जनता उतारेर नेकपा एमाले मुलुकको सवैभन्दा ठूलो दलको रुपमा स्थापित भएको प्रमाणित गर्ने छौं, आगामी निर्वाचनमा लोकप्रिय जनमतसहित एमाले पुनः सत्तामा फर्कन्छ भन्ने तथ्य पनि स्थापित गर्ने छौं,’ भट्टराईले भन्नुभयो, ‘यो महाधिवेशनको सन्देश पनि यही हो ।’

एमाले महाधिवेशनको उद्घाटन चितवनको नारायणी नदीको किनारमा हुनेछ । वरिपरिका जिल्लासहित देशैभरबाट ठूलो संख्यामा जनता ल्याएर महाधिवशेनलाई भव्य र ऐतिहासिक बनाइने भट्टराईले जानकारी दिनुभयो । साढे सात लाख संगठित सदस्य भएको एमालेको राष्ट्रिय महाधिवशेनको विशेष महत्व रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ८ : ३४ बजे