एमालेसँग एकल प्रतिस्पर्धा गर्न सक्दैनौं भने गठबन्धन बनाएर आऊ– ईश्वर पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिस्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धलाई चुनौती दिनुभएको छ ।

सोमबार नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ५ को बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिस्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिनुभएको हो ।

उहाँले एमालेको विरुद्धमा अहिले एउटा गठबन्धन तयार रहेको बताउँदै उक्त गठबन्धनले संविधान र कानूनलाई ठाडो उल्लंघन गरिरहेको आरोपसमेत लगाउनुभयो । महासचिव पोखरेलले सत्तारुढ गठबन्धनले राजनीतिक अस्थिरता पैदा गरेको, विकास निर्माणका कामलाई रोकेको र कानूनलाई ठाडो उल्लंघन गरेको बताउनुभयो । उहाँले अहिलेको गठबन्धन सरकार विदेशीको अघि घुँडा टेक्नसमेत पछि नपरेको दावी गर्नुभयो ।

महासचिव पोखरेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा विदेशी पार्टीहरूलाई बोलाएको र लगभग ५ लाख जनताको उपस्थितिमा महाधिवेशनको उद्घाटन गर्ने बताउनुभयो । उहाँले देशवासीको नाममा नेकपा एमाले विगतको भन्दा सशक्त ढंगले अघि बढ्ने दावी गर्दै मुलुकलाई नयाँ संकल्पसहित अघि बढाउने योजनामा रहेको बताउनुभयो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ९ : १४ बजे