प्रदेश १ का मुख्यमन्त्री आचार्यद्धारा राजीनामा

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिनुभएको छ। प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उहाँले राजीनामा दिनुभएको हो ।

सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘अंकगणितले मेल नखाएकाले राजीनामाको घोषणा गर्छु । सहयोगका लागि सबैलाई धन्यवाद ।’ जुनसुकै सरकार आए पनि एमालेको रचनात्मक सहयोग हुने उहाँले बताउनुभयो ।

आचार्य भदौ १० मा मुख्यमन्त्री बन्नुभएको थियो । एमालेका १० सांसदले एकीकृत नेकपा समाजवादी रोजेसँगै अल्पमतमा पर्नुभएका आचार्यले संविधानअनुसार ३० दिने विश्वासको मत लिने प्रस्ताव पेश गर्नुभएको थियो ।  तर प्रस्ताव तत्काल मतदानमा लगिएन । प्रदेशसभामा आफ्नो दल अल्पमतमा परेसँगै सरकार छाड्ने सोच रोखेको भएपनि जनताको अपेक्षा र कामको चापले हतारो गर्न नदिएको आचार्यको दाबी छ । ९२ सदस्यीय प्रदेशसभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  २ : ५५ बजे