काठमाडौँ । सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र सुनुवाइ हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणका छ इजलास तोक्नुभएको छ । त्यसमा चार संयुक्त र दुई एकल इजलास रहेका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि आज बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइका लागि पेसी तोक्नुभएको छ । अब केही बेरमा सुनुवाइ सुरु हुन्छ ।
गत आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो ।
गत सोमबारदेखि नै मुद्दाको सुनुवाइ पुरै प्रभावित भएको छ । मुद्दाको सुनुवाइ प्रभावित भएको आज एक हप्ता भएको छ ।
सर्वोच्च अदालतको गत सोमबार पूर्ण बैठक (फुल कोर्ट) को बैठक बसेर समस्याको समाधान गर्ने भनिए पनि उक्त बैठक बस्न सकेन ।
प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको जनाउँदै न्यायाधीशलाई पनि संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको छ ।
आज प्रधानन्यायाधीश र न्यायाधीशबीच छलफल गर्ने तय भएको छ ।
अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । त्यसले गर्दा पालोमा टाढा टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् ।
प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १२ : २२ बजे
प्रतिक्रिया