प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आज पनि कानुन व्यवसायीको आन्दोलन जारी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीले आज पनि आन्दोलन जारी राखेका छन् ।  

आइतबारबाट कालो पट्टी बाँधेर विरोधमा उत्रिएका कानुन व्यवसायीहरूले  आज पनि आफ्नो आन्दोलनलाई जारी राखेका हुन् । 

प्रधानन्यायाधीश जबराले आफू ‘सम्मान जनक बहिर्गमन’को पक्षमा रहेको सन्देश दिइसकेका अवस्थामा पनि उहाँको राजीनामा माग्दै कानुन व्यवसायीहरूले आन्दोलन जारी राखेका छन् । 

बारसहित सर्वोच्च अदालतकै १९ जना न्यायाधीशहरू प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका छन् । उनीहरू इजलासमा समेत बसेका छैनन् । सोही क्रममा आन्दोलनमा उत्रिएका न्यायाधीशहरूलाई जबराले आफू सम्मानजनक बहिर्गमन हुन चाहेको सन्देश पठाएका थिए । 

कार्यपालिकासँग मिलेर राजनीतिक भाग खोजेको आरोप लगाउँदै प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वोच्चकै न्यायाधीश र कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । 

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ११ : ४९ बजे