अवलोकन भ्रमणका लागि राष्ट्रपति भण्डारी मनाङमा

​​​​​​​​​​​​​​​​​​​​​मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारी आज मनाङ पुग्नुभएको छ । अवलोकन भ्रमणका लागि उहाँ मनाङ पुग्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी आज बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्नुभएको जानकारी दिनुभयो ।

​​​​​​​

राष्ट्रपति भण्डारीले मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गर्नुभएको एग्रो मनाङ प्रालि स्याउ फार्म अवलोकन गर्नुभएको छ । 

सात सय ३५ रोपनी क्षेत्रफल ओगटेको यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डपनलगायतका स्याउ उत्पादन हुँदै आएको छ ।  स्याउ फार्म नेपालकै सबैभन्दा ठुलो फार्म हो ।

गत आर्थिक वर्षमा उक्त फार्मबाट ४५० टन स्याउ उत्पादन भएको थियो । उक्त फार्म ७३५ रोपनी क्षेत्रफलमा छ र सो फार्मभरि स्याउ लगाइएको छ । मनाङको स्याउ स्वादिलो हुने भएकाले स्थानीय र बाह्य बजारमा पनि निकै लोकप्रिय रहिआएको छ ।  

त्यसैगरी, राष्ट्रपतिले गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत अवलोकन गर्नुहुने प्रजिअ आचार्यले जानकारी दिनुभयो । 

जलवायु परिवर्तनका कारण यस हिमाली जिल्लामा देखा परेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिनुहुने बताइएको छ ।

तस्बिर : रासस 

​​​​​​​

 

​​​​​​​

​​​​​​​

​​​​​​​

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १० : ४६ बजे