कास्कीमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरूको दोस्रो ठुलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ ।

प्रशासनले आइतबार सूचना जारी गरी कोभिड–१९ रोगको सङ्क्रमणदर अपेक्षित घट्न नसकेको र यसको प्रकोप बढ्न सक्ने भएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी देउसी–भैलोजस्ता नाचगान कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न आदेश जारी गरेको छ ।

यसैगरी, देउसी–भैलो कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासित रूपमा सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । 

प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भुईँ चम्पाजस्ता विस्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवं बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

चाडपर्वका समयमा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने एवं झैझगडा गर्ने कार्यमा रोक लगाइएको प्रशासनले जनाएको छ । 

मठमन्दिर, गुम्बालगायतका धार्मिक स्थलमा अनावश्यक भिडभाड हुन नदिई स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी पूजापाठलगायतका अन्य क्रियाकलाप सञ्चालन गर्न पनि अपिल गरिएको छ । रासस

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ७ : ४२ बजे