साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आइसिसी टी–२० :भारतको लगातार दोस्रो हार, न्युजिल्यान्डको सेमिफाइनल यात्रा बलियो

काठमाडौँ । उपाधि दाबेदार भारत आइसिसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो हार ब्यहोरेको छ । आइतबार सुपर–१२ को समूह–२ को खेलमा भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको हो । 

योसँगै भारतको सेमिफाइनलमा यात्रा कमजोर भएको छ । न्युजिल्यान्डले भने सेमिफाइनल यात्रा बलियो बनाएको छ ।

जितका लागि १११ रनको  लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४ ओभर ३ बलमा  पूरा गर्‍यो । न्युजिल्यान्डका ओपनर डर्याल मिचेलले  सर्वाधिक ४९ रनको योगदान दिए । कप्तान केन विलियम्सन  ३३ रनमा अविजित रहे ।

यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११० रन मात्र बनायो । रवीन्द्र जडेजाले सर्वाधिक २६ रनको योगदान दिए ।  हार्दिक पान्ड्याले २३ रन बनाए । अन्य कुनै पनि खेलाडी क्रिजमा चल्न सकेनन् ।

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले  ३ विकेट लिए । स्पिनर ईश सोधीले २ विकेट लिए ।

भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

सुपर-१२ को समूह-२ मा पाकिस्तान ३ खेलमा ३ जितका साथ ६ अङ्कसहित शीर्ष स्थानमा छ । अफगानिस्तान दोस्रो स्थानमा छ । न्युजिल्यान्ड  तेस्रो स्थानमा छ । नामिबिया  चौथो स्थानमा रहँदा भारत र स्कटल्यान्ड क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् ।

समूह–१ मा इंग्ल्यान्ड ३ खेलमा ३ जितका साथ ६ अङ्क जोड्दै शीर्ष स्थानमा छ । 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ७ : ३६ बजे