लुम्बिनीमा बुद्ध मूर्ति अनावरण गर्दै राष्ट्रपतिले भन्नुभयो – यसले विश्वभर शान्तिको सन्देश फैलाउँछ

बुटवल – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँ मूल्यको बुद्ध मूर्ति आइतबार अनावरण गरिएको छ । ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्ध मूर्ति राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्नुभएको हो  ।

बुद्धमूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध मूर्ति राखिएकोमा यसले विश्वभर शान्तिको सन्देश फैलाउन ठूलो भूमिका खेल्ने बताउनु भयो ।‘विश्वभरका पर्यटकमाझ शान्ति, अहिंसा र करुणाको सन्देश फैलाउन यसबाट ठूलो मद्दत पुग्ने छ’, उहाँले भन्नुभयो ।

राष्ट्रपतिले बुद्धका उपदेशको अनुशरण गरेमात्रै विश्वमा शान्ति कायम हुने भन्दै यसलाई सबैले महसुस गर्दै आफ्नो जीवनमा अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रूपमा विकास गर्नुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले यसका लागि लुम्बिनी गुरुयोजना छिटो पूरा गरी लुम्बिनी सर्किटको विकास गर्नुपर्ने बताउनु भयो ।

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले विमानस्थलमा बुद्ध मूर्ति राखेर यसको महत्वलाई अझै बढाइएको भन्दै यसबाट विमानस्थलमा ओर्लन पर्यटकहरूले सन्देश बोकेर आउने बताउनु भयो । उहाँले विमानस्थल अविलम्व सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको भन्दै आयोजनालाई जतिसक्दो छिटो काम सक्न निर्देशन दिनुभयो । छिटो क्यालिब्रेसन फ्लाइट गर्न निर्देशन दिँदै उहाँले यसका लागि सरकारले के गर्नुपर्छ, सबै गर्न तयार रहेको खाँणले बताउनुभयो  ।

म्यानमारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपद्वारा निर्मित एक हजार आठ सय केजी तौल भएको बुद्ध मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको हो ।

बुद्ध मूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका दुई जना मन्त्रीसमेत सहभागी हुनुहुन्थ्यो ।  बुद्ध मूर्ति १ दशमलव ९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ । सो बुद्ध मूर्तिमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’ को हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर छ । दुई करोड १६ लाख अमेरिकी डलर बराबरको उक्त मूर्ति फाउन्डेसनले नेपाललाई उपहारस्वरूप दिएको हो । 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ४ : ३८ बजे