एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

प्रदेश नं. १ मा देखिएका संभावनाहरु 

विश्वको सर्वोच्च शिखर सगरमाथा तथा मुलुकको सबैभन्दा होचो भू–भाग कचनाकवललाई अपनाएर अपार जैविक विविधतायुक्त प्रदेश नं. १ सामाजिक–आर्थिक विकासका अनेकौँ संभावनाहरू बोकेको क्षेत्रमा पर्दछ । देशको सुदूर पूर्वी भागमा पर्ने यो प्रदेशको सीमा पूर्व र दक्षिण भारत तथा उत्तर चीनसँग जोडिएको छ । मुलुकमा लोकतन्त्रका निम्ति भएको संघर्षको उभार ल्याउनमापूर्वको झुल्के घामझैँ उज्यालो छरेर उल्लेखनीय योगदान पु¥याएको यस क्षेत्रको इतिहासलाई नसमेटी देशको राजनीतिक परिवर्तनको आन्दोलनको इतिहास नै अपुरो हुन्छ । साथै, माक्र्सवाद प्रवद्र्धित आमूल सामाजिक परिवर्तनको अवधारणा मार्फत वर्गीय शोषण तथा दमन समाप्त पारेर लोकतान्त्रिक मूल्य मान्यतामा आधारित न्याय तथा समानता कायम भएको राज्य व्यवस्था सिर्जना गर्ने अभियानमा अभूतपूर्व योगदान पु¥याएको ‘झापा संघर्ष’ को सन्देश यस प्रदेशले प्रज्ज्वलित गरिरहेकाले पनि यस प्रदेशको स्थान विशेष किसिमको रहन गएको छ । 

देशका मुर्धन्य राजनीतिज्ञहरू जो राज्य सञ्चालनका शीर्षस्थानमा पुग्न सफल हुनुभयो, यस प्रदेशले त्यसमा पनि गौरव गर्नुपर्दछ । देशको पहिलो महिला राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरू स्व. गिरिजाप्रसाद कोइराला, स्व.मनमोहन अधिकारी, स्व.सुर्यबहादुर थापा, स्व. नगेन्द्रप्रसाद रिजाल र स्व. मातृकाप्रसाद कोइराला यसै क्षेत्रका हुनुहुन्छ । यस प्रदेशको दुर्गम जिल्ला ताप्लेजुङमा जन्मिनु भएका र एक राजनीतिक कार्यक्रममा सहभागी हुन जाने क्रममा २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा परेर अल्पायुमै अमूल्य जीवन गुमाउनु भएका जननेता मदन भण्डारीले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा नयाँ आयाम नै थप्नु भएको छ । 

नेपाली समाजको आमूल परिवर्तनको सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेता जननेताले नेपाली कम्युनिष्ट आन्दोलन तथा सिङ्गो समाजलाई नै लोकतान्त्रिकरण गर्न निर्वाह गरेको भूमिकालाई यो देशले कहिल्यै भुल्न सक्दैन । जननेताको अविस्मरणीय योगदानलाई झल्काउन मोरङको उर्लाबारी मंगलबारेको मदन भण्डारी संग्रहालय एउटा लोकप्रिय राजनीतिक पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ । यसैगरी मुलुक जहानीयाँ राणाशासनद्वारा लादिएको निरंकुशताको जाँतोमा पिसिँदासमेत शिक्षाको ज्योति छर्ने भोजपुरका बालागुरु षडानन्द र अरुण नदीमा जलसमाधी लिएर महिला समानताका लागि विद्रोह गर्ने योगमाया, समाज सुधारसहित सामाजिक सद्भाव अभिबृद्धि गर्न, मौलिक साँस्कृतिक पहिचानमा जोड दिएर अनुशासित समाज स्थापना गर्न अविस्मरणीय योगदान पु¥याउने किराँत धर्मगुरु फाल्गुनन्द, ओखलढुङ्गाका युगकवि सिद्धिचरणश्रेष्ठ, सोलुखुम्बुमा जन्म लिएर सगरमाथाको सफल आरोहण गर्ने प्रथम नेपाली महिला राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा, ओखलढुङ्गामा जन्मेका राष्ट्रिय गानका रचनाकार प्रदीप कुमार राई (व्याकुल माइला), ताप्लेजुङका विश्वप्रख्यात आँखारोग विशेषज्ञ प्रा.डा.सन्दुक रुइतप्रति प्रदेशवासीले गर्व गर्नुपर्दछ । 

प्रभावकारीरूपमा औद्योगिक गतिविधिको शुरुवात गर्ने विराटनगरमा रहेका जुटमील, कटनमील र केमिकल्स जस्ता उद्योगहरूले मुलुकको औद्योगीकरण प्रक्रियाको विकासमा महत्वपूर्ण योगदान गरेका छन् । फलतः आज यस प्रदेशमा ७ सय भन्दा बढि ठूला–मझौला उद्योग सञ्चालनमा आएका छन् र यसले देशको यो एउटा औद्योगिक क्षेत्रको रूपमा रहेको पहिचान बनाएको छ । त्यसो त यस क्षेत्रले मुलुकको आर्थिक क्षेत्रमा मात्र योगदान पु¥याउँदै आएको छैन बरु वि.सं.२००७ को एकतन्त्रीय जहानीयाँ राणाशासन विरुद्धको सफल जन–आन्दोलनको आधार तयार पार्न र प्रेरणा प्रदान गर्न वि.सं.२००३ को विराटनगरको मजदूर आन्दोलन उठानमा समेत ठूलो मद्दत पु¥याएको थियो । यस आन्दोलनको विकासमा स्व.गिरिजाप्रसाद कोइराला र स्व. मनमोहन अधिकारीले खेल्नु भएको भूमिका नेपालको राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको छ । 

नेपालको संविधान २०७२ लागू भएपछि बनेका सात वटा प्रदेशहरू मध्ये प्रदेश नं. १ एउटा हो । मुलुकमा पूर्वक्षेत्रबाट प्रदेशहरू विभाजित गरीकन त्यहाँ प्रदेश नं. १, क्रमशः अरु ५ वटा प्रदेशहरू र पश्चिम महाकाली नदी क्षेत्र सम्म प्रदेश नं. ७ नामकरण गरियो । पाँच वटा प्रदेशका प्रदेश सभाहरूले दुई तिहाई बहुमतबाट प्रदेशहरूको नामकरण गरिसकेका भएतापनि यस प्रदेशले आफ्नो नामकरण गर्न सकेको छैन । आशा गरौँ, छिटै नै यस प्रदेशले पनि एउटा उपयुक्त नामकरण गर्न सफल हुनेछ । 

हिमाल, पहाड र तराईसहित २५,९०५ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको यस प्रदेशको जनसंख्या पैतालिस लाख भन्दा बढि छ । यस प्रदेशको राजधानी मोरङ जिल्लाको ऐतिहासिक शहर बिराटनगर हो । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, मोरङ र सुनसरी समेत १४ जिल्लाहरू यस प्रदेशमा पर्दछन् । १३७ स्थानिय तहमा विभाजित यस प्रदेशमा १ महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिकाहरू रहेका छन् । प्रथम हुने निर्वाचन प्रणाली अन्तर्गत यस प्रदेशमा २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ५६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र पर्दछन् । 

विविधताबीच एकताको सुन्दर र बलियो मालाको रूपमा रहेकोयस प्रदेशमा ब्राम्हण, क्षेत्री, राई, लिम्बू, थारू, लेप्चा, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशीलगायतका जातिहरू बसोबास गर्दछन् । यहाँ नेपाली, मैथिली, किराँती, तामाङ, लिम्बु, गुरुङ, लेप्चा, मगर र थारू भाषाहरू प्रचलनमा छन् ।सगरमाथा, कञ्चनजङ्घा, मकालु, चोयु, ल्होत्से, जन्नु जस्ता प्रख्यात हिमालहरू र अन्य मनोरम हिमशृङ्खलाहरूले यस प्रदेशलाई मात्र होइन मुलुकलाई नै सुरम्य र समृद्ध तुल्याएका छन् । हिमाल आरोहण, पदयात्रा र साहसिक विविध खेलमा प्रख्यात यस क्षेत्रलाई थप आकर्षक बनाउन दिगो विकासको अवधारणालाई आत्मसात गर्दै भौतिक संरचना प्रवद्र्धन गर्नुपर्दछ । यस सम्बन्धि एउटा विश्वविद्यालय स्थापना गरी अगाडि बढ्दा विश्व समक्ष नेपालको थप पहिचान अभिबृद्धि गर्न सहयोग पुग्नेछ । यस प्रदेशमा इलामको अन्तुडाँडा, कन्याम, धनकुटाको भेडेटार, सोलुखुम्बुको नाम्चे बजार, सगरमाथा आधार शिविर आदि अग्ला स्थानका पर्यटकीय गन्तव्यहरू छन् । यहाँको मौलिकता नमेटिने गरी होमस्टे, अतिथिगृह तथा प्याराग्लाइडिङ, आरोहण तालिमजस्ता साहसिक खेल तथा पर्यटन पूर्वाधारको विकास गर्नसके आन्तरिक पर्यटन त विकास हुन्छ नै खासगरी छिमेकी मुलुक भारतका पश्चिम बंगाल, विहारजस्ता अलि गर्मी हुने स्थानका पर्यटकहरूउत्तरतर्फको ठण्डा र पर्यटकीय सम्पदाको आनन्द लिन आउने स्थिति निर्माण गर्न सकिन्छ ।  

त्रिचालिस प्रतिशत भूमि बनले ढाकेको यहाँ प्राकृतिक सम्पदा, वन्यजन्तु तथा पशुपञ्छीको संरक्षण गर्ने हेतुले स्थापना गरिएका सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष, कञ्चनजङ्घा संरक्षण क्षेत्रलगायत नेपालकै अग्लो ह््यातुङ झरना तथा टोड्के र पोकली जस्ता ठूला र लामा झरनाहरू पनि यसै प्रदेशमा रहेका छन् । तेह्रथुम, ताप्लेजुङ लगायत जिल्लामा पर्ने तिनजुरे–मिल्के–जलजले क्षेत्रको प्रसिद्ध लालीगुराँस फुल्ने क्षेत्रको मनोरमता र मोहकताको प्रचार प्रसार गर्नसके पकृतिप्रेमीलाई त आकर्षण गर्न सकिन्छ नै लालीगुराँसको व्यापारबाट अर्थोपार्जनमा समेत टेवा पुग्ने निश्चित छ । 

असंख्य मठ, मन्दिर, पाटी, पौवा, गुम्बा, मस्जिदले भरिपूर्ण नेपालको सुदूरपूर्वमा रहेको यस प्रदेशमा विभिन्न प्रसिद्ध धार्मिक तीर्थस्थलहरू जस्तैः ताप्लेजुङको पाथिभरा देवीको मन्दिर, इलामको माइपोखरी, झापाको अर्जुनधारा र सताक्षी धाम, सुनसरीको बराह क्षेत्र, बूढा सुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, चतराधाम, खोटाङको हलेसी महादेवलगायत बराह पोखरी, साल्पा पोखरी, दूधकुण्ड, कालिका देवी, छिन्ताङ देवी, कन्काई आदि प्रख्यात धार्मिक स्थलहरू रहेका छन् । ताप्लेजुङको पाथिभरामा केवल कारको विकास गर्दै सुनसरीको बराह क्षेत्र र खोटाङको हलेसीमा साँस्कृतिक धार्मिक पूर्वाधारसहित यहाँको महिमाको प्रचार गर्नसके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनको ठूलो संभावना रहेको छ । 

यो प्रदेश जलसम्पदामा पनि सम्पन्न छ । यहाँका अरुण, तमोर, दूधकोशी, मेची, कन्काई र त्रियुगालगायतका नदीहरू प्रमुख हुन् । यस प्राकृतिक उपहारबाट ऊर्जा, सिँचाई, माछा पालन व्यवसाय र जल यातायात तथा जलपर्यटन विकास गर्न सकिने ठूलो संभावना रहेको छ । यस प्रदेशमा पर्ने पुवा खोला जलविद्युत आयोजना र थामे जलविद्युत आयोजना निर्माण भई सञ्चालनमा रहेका छन् भने अरुण तेस्रो जलविद्युत आयोजना प्रमुख प्रस्तावित जलविद्युत आयोजनाभित्र पर्दछ । यहाँका पोखरी, ताल तलैया तथा सीमसार क्षेत्रहरू वातावरणीय दृष्टिले मात्र समृद्ध छैनन् बरु पर्यापर्यटनका समेत केन्द्र बन्दै आएका छन् । त्यसो त अहिले पनि झापाको सुखानीमा अवस्थित ताल र झापाकै जामुनखाडीमा नौका विहारको प्रवन्धसहित बनभोजस्थल भएकाले स्थानीय समुदायले ठूलो लाभ लिइरहेको छ । यस क्षेत्रका यी लोकप्रिय पर्यटकीय गन्तव्यस्थल बनेका छन् । 

यहाँका मोरङको बिराटनगर, सुनसरीका इटहरी र धरान, धनकुटा, झापाका दमक, बिर्तामोड, भद्रपुर–चन्द्रगढी महत्वपूर्ण शहर बजारहरू हुन् । यी शहरहरूमा खानेपानी तथा सरसफाई, सभाहल, अतिथिगृह तथा होटल एवं रेष्टुरेन्ट, आकर्षक उद्यान, सवारी साधनजस्ता पूवाधारको विकास गर्नसके आन्तरिक तथा बाह्य पर्यटन समेत प्रवद्र्धन हुनसक्ने ठूलो संभावना रहेको छ । बिराट राजाले राज्य गरेकाले यहाँ बिराटगर नाम रहन गएको भन्ने विश्वास भएको र त्यस सम्बन्धी केही ऐतिहासिक पुरातात्विक अवशेष झापामा किच्चक वधस्थल रहेको जानकारीमा आएको बताइएकोमा यो सत्य तथ्य पत्ता लगाउन सके पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ । 

अन्नको भण्डारको रूपमा रहेको र त्यसमा पनि धान खेतीको लागि देशकै प्रख्यात झापा, मोरङ र सुनसरीमा थप अध्ययन अनुसन्धानसहित उन्नत बीउ, सिँचाई र आधुनिक कृषि औजार र उपकरणको प्रवन्ध गर्नसके मुलुकको खाद्यान्न सञ्चिती तथा खाद्य सुरक्षामा ठूलो मद्दत पुग्ने देखिन्छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा सुनसरीले यस क्षेत्रका बाली अनुसन्धान तथा विकास एवं उन्नत पशुपंक्षी तथा माछा विकास गर्न विर्वाह गरिरहेको भूमिकाको समीक्षा गर्दै थप स्रोत साधनको प्रवद्र्धन गरी यसलाई अझ विश्वसनीय र सुदृढ संस्थाको रूपमा विकास गर्नसके प्रदेशकै कृषि विकासमा ठूलो योगदान पुग्नेछ । धान, मकै, कोदो, गहुँ, जौ, फापर, दलहन, तेलहन, आँप, लिचि, केरा, सुन्तला, किवी, मेवा, सुपारी, नरिवल, अमरिसो, अदुवा, रुद्राक्ष, अलैँचीजस्ता अन्न तथा नगदेवाली उत्पादनमा अब्बल यहाँ कृषिको आधुनिकीकरण र व्यावसायीकरणसहित उन्नत मल कारखाना स्थापना गरेर अघि बढ्न सक्दा प्रादेशिक आयमा मात्र होइन समग्रमा आयात प्रतिस्थापन गर्दै देशको अन्तर्राष्ट्रिय व्यापार घाटा न्यूनीकरणमा समेत ठूलो योगदान पु¥याउन सकिन्छ । 

यहाँका कृषि उपजको मौलिकतालाई जोगाइराख्न तथा खाद्य पर्यटन प्रवद्र्धन गर्न प्रदेशस्तरीय खाद्य संग्रहालय स्थापना गर्नुपर्नेखाँचो रहेको छ । यस संग्रहालयमा यहाँ उत्पादित अन्नबाली, फलफूल, जडिबूटी, चिया, अलैँची आदिको परिचय खुल्ने व्यवस्था, उत्पादनमध्ये केहीको उत्पादन प्रक्रियादेखि खाना पस्किने अवस्थासम्म झल्काउने व्यवस्था गर्नसके स्थानीय उत्पादन अभिबृद्धि हुने र पर्यटन प्रवद्र्धनमा समेत ठूलो योगदान पुग्ने देखिन्छ । यसैगरी अल्पसंख्यक रूपमा यसै प्रदेशमा रहेका धिमाल, सतार, झाँगर, राजवंशी, माझी जस्ता जातिको खाद्य संस्कार तथा संस्कृतिको प्रवद्र्धन गर्न सकिन्छ । राजवंशी जातिले बढि मात्रामा सेवन गर्ने चामलको पीठोबाट निर्मित खाना भक्का र धानबाट बनेको भुजाको प्रवद्र्धनका निम्ति गरिएको प्रयास सराहनीय छ । दुग्ध उत्पादनमा सुदृढ यस प्रदेशमा दुग्धजन्य स्वादिष्ट मीठाइ तथा मिष्ठान्न तथा छुर्पीको उत्पादन गरी व्यापार प्रवद्र्धन गर्न सकिन्छ । यहाँको छुर्पी अहिले पनि स्वदेश तथा विदेशमा खपत भइरहेको कुराबाट शिक्षा लिँदै यसलाई थप व्यावसायिक र व्यवस्थित गर्नुपर्ने खाँचो रहेको छ । ‘धराने कालो बंगुरको मासु’ हाम्रो मुलुकमा एउटा ब्रान्ड नै भएको छ । यसबाट उचित शिक्षा लिएर अन्य उत्पादनलाई पनि विस्तार गर्न सकिने प्रशस्त संभावना रहेको छ । 

हाम्रो देशमा उत्पादन हुने चियामध्ये अधिकांश हिस्सा झापा र इलामको हो । यहाँको स्वादिष्ट र गुणस्तर चियाको माग स्वदेशमा मात्र होइन विदेशका युरोप तथा अमेरिकामा पनि रहेको छ । यस क्षेत्रका अन्य जिल्लामा समेत व्यावसायिक चिया खेतीको विकास गर्नसके प्रदेशलाई नै चिया खेतीमा उत्कृष्ट बनाउँदै आय आर्जनमा ठूलो योगदान पु¥याउन सकिने निश्चित छ । अलैँची उत्पादनमा प्रख्यात ताप्लेजुङ, संखुवासभा र तेह्रथुममा उत्पादन हुने चिराइतो जस्ता जडिबूटी तथा नगदेवालीको बजार प्रवद्र्धन गर्नसके आयआर्जनमा मनग्ये टेवा पुग्ने देखिन्छ । 

यहाँको पूर्वाञ्चल विश्वविद्यालयलाई थप प्रतिष्ठित तुल्याउँदै गुणस्तरीय शिक्षा विकास गर्ने उत्कृष्ट प्राज्ञिक संस्थाको रूपमा उन्नयन गर्नसके यस क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा ठूलो मद्दत मिल्नेछ । यस क्षेत्रमा कहलिएको स्वास्थ्य शिक्षा प्रवद्र्धन तथा स्वास्थ्य उपचारमा संलग्न विश्वविद्यालयस्तरकै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हो । यसैगरी उच्च, मध्यम तथा निम्न स्तरको कृषि, स्वास्थ्य तथा इन्जिनियरिङ क्षेत्रको जनशक्ति उत्पादनमा मदन भण्डारी प्रतिष्ठानद्वारा सञ्चालित शिक्षण संस्थाहरूलाई लिन सकिन्छ । यी संस्थाहरूलाई थप पूर्वाधार विकास तथा जनशक्तियुक्त तुल्याउन सके यस क्षेत्रमा आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न तथा रोजगारी प्रवद्र्धन गर्नसमेत ठूलो मद्दत पुग्नेछ । त्यसो त प्रदेशको समग्र शैक्षिक विकासका लागि उच्च शिक्षाको जगको रूपमा रहेको विद्यालय तहदेखि नै शैक्षिक तथा भौतिक पूर्वाधार विकास गर्दै शिक्षा दीक्षा प्रदान गर्नसके मुलुकको समग्र समृद्धि अभियानमा नै महत्वपूर्ण योगदान मिल्नेछ । 

यसै प्रदेशको संखुवासभाको किमाथाङ्का–विराटनगर उत्तर दक्षिण सडक खण्डलाई स्तरोन्नति, चौडा, गुणस्तरीय र भरपर्दो बनाएर चीन र भारतका पर्यटक भित्र्याउन, आवत जावतमा मद्दत पु¥याउन तथा व्यापार व्यवसाय बढाउन ध्यान दिँदै मुलुकको समग्र आर्थिक विकासमा लगाउनु पर्ने खाँचो रहेको छ । यसको सुचारूपनबाट यस मार्गको आसपासका वस्तीद्वारा प्रवद्र्धित स्थानीय उत्पादनको व्यवसाय बढ्ने, यात्रु अतिथि तथा भोजनगृहको प्रवन्धबाट आय आर्जन हुने तथा समग्र वासिन्दाको जीवनस्तर उकास्न मद्दत पुग्नेछ । ताप्लेजुङ कञ्चनजङ्गा मकालु क्षेत्रमा शिकार आरक्षणको विकास गर्नसके साहसिकपर्यटनको मात्र विस्तार हुँदैन बरुयस क्षेत्रका विविध प्रजातिका रुखबिरुवा, चराचुरुङ्गी र घोरल तथा रेडपाण्डा लगायतका जीवजन्तुको समेत संरक्षण हुने देखिन्छ । 

अन्तर्राष्ट्रिय सीमा जोडिएका दुई ठूला छिमकी मित्रराष्ट्रहरूबीच हुने व्यापार व्यवसाय र यात्रुहरूको आवतजावतबाट नेपालले लाभ लिनु पर्दछ । अनि दुबै मुलुकसँग हाम्रा उत्पादनहरूविक्री वितरण गर्नसक्ने उपाय खोज्नु पर्दछ । यसका लागि उत्तर दक्षिण उन्नत सडक मार्ग निर्माण गर्नु आवश्यक छ । अहिले प्रस्तावित ताप्लेजुङ–ओलाङचुङगोला–मोरङ रानी बिराटगर तमोर करीडोरसहितको सडक स्तरोन्नति गरी एक्सप्रेस हाइवेको निर्माण सम्पन्न गर्दा चीनको तिब्बत सिगात्सेसँगको नेपाल तथा भारतको पहुँच छिटो र सजिलो हुन्छ । यसबाट व्यापार प्रवद्र्धन तथा आवागमनका क्षेत्रमा फड्को नै मार्न सकिन्छ । 

तीब्ररुपमा विस्तारित हुँदै गएको, भव्य भिउ टावर निर्माण कार्यले आकर्षण थपिँदै गएको यस क्षेत्रको सुन्दर नगरी दमकमा औद्योगिक पार्क निर्माण गर्ने योजनालाई मुर्तरूप दिने प्रयास भइरहेको देखिन्छ । तदारुकताका साथ यसलाई सम्पन्न गरेर स्थानीय कच्चा पदार्थको प्रयोग गर्दै रोजगारी प्रवद्र्धनमा योगदान पु¥याउनु पर्दछ । यहाँको मौलिक औद्योगिक उत्पादन तथा कृषि उपज छिमेकी मुलुक भारत र यसै प्रदेशमा पर्ने हाम्रो पूर्वी सीमाकोसडकमार्गबाट तीन दर्जनभन्दा कम किलोमिटर मात्र टाढा रहेको मित्रराष्ट्र बंगलादेशमा समेत बजार प्रवद्र्धन गर्न सकिन्छ । 

मुलुक संघीय संरचनामा गएपछि ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश नं.१’ भन्ने प्रादेशिक आकांक्षा निर्धारण गरी प्रदेश सरकार सामाजिक आर्थिक विकासमा केन्द्रित रहेको छ । यसका लागि प्रदेश समक्ष आफ्नो दिगो स्रोत व्यवस्थापन गर्नुपर्ने, करको दायरा विस्तार गर्नुपर्ने, प्रदेशको लगानीमा सार्वजनिक निजी सहकारी परियोजना चलाउनु पर्ने, रोजगार सिर्जना गर्ने आयोजना विकास गर्नुपर्ने, प्रदेशले प्राप्त गरेका एकल अधिकारहरू कार्यान्वयनमा जोड दिनुपर्ने, स्थानीयतह र संघीय सरकारसँग लगानी बढाउन समन्वयलाई सुदृढ तुल्याउनु पर्ने, आधुनिक विज्ञान तथा प्रविधि र सूचना तथा सञ्चारको प्रयोगलाई जोड दिनुपर्ने, सुगममा सेवा र दुर्गममा विकास पु¥याउनु पर्ने, शहर उन्मुख जनसंख्यालाई ग्रामीण भेगमा राखिरहने, विश्व श्रमबजारको नेपाली श्रमिकको विप्रेषणलाई विकास आयोजनामा सदुपयोग गर्ने जस्ता चुनौतीहरू छन् । यी समस्याहरू समाधान गर्दै नयाँ अवसरको खोजीसहित अगाडि बढेको खण्डमा प्रादेशिक विकास त संभव छ नै यसबाट ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल गर्नमा समेत महत्वपूर्ण योगदान पु¥याउन सकिनेछ । 
 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ९ : ३७ बजे