कोभिडपछि पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिन राष्ट्रपति भण्डारी पर्यटकीय यात्रामा

काठमाडौं– पर्यटन प्रवर्द्धनको सन्देश दिन हिजो मुस्ताङ पुग्नु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी र भोलि मनाङ जाँदै हुनुहुन्छ ।

स्वकीय सचिवालयका अनुसार आज बिहान ९ बजे राष्ट्रपति भण्डारी लुम्बिनी जाँदै हुनुहुुन्छ । ११ बजे लुम्बिनी बृहत्तर विकास गुरु योजना भित्र निर्माण भएको कलात्मक नेपाल मण्डल बिहारको अवलोकन र त्यसको कलात्मक प्रवेशद्वारको राष्ट्रपति भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार लुम्बिनीमा मायादेवी मन्दिर क्षेत्रको अवलोकन र पुजा अर्चना गर्ने कार्यक्रम छ । त्यसपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्र बुद्धको प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको छ । उक्त प्रतिमा एउटै सेतो जेड ढुंगाबाट युरोपमा बनाइएको हो । यसको निर्माण लुम्बिनी गार्डेन फाउण्डेसनले गरेको हो । यस प्रकारको बुद्धको प्रतिमा म्यानमारमा मात्र रहेको बताइएको छ ।

यसैगरी राष्ट्रपति भण्डारी भोली हिमाली जिल्ला मनाङ जाने कार्यक्रम छ । मनाङमा पाल्देन छोपाङ गुरुङले करिब ७ सय रोपनी क्षेत्रफलमा लगाएको स्याउ खेतीको अवलोकन गर्ने कार्यक्रम छ ।

‘राष्ट्रपतिको यो देश दौडाहा कोभिडपछि पर्यटन क्षेत्र सुरक्षित छन् भनेर विदेशी नागरिकहरुलाई पनि सन्देश दिनका लागि भएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १० : ३६ बजे